दसैँमा दुई लाख ३७ हजारले गरे हवाई यात्रा

जनता संवाददाता
२०८१ आश्विन ३० गते, बुधबार

काठमाडौँ । दसैँको पाँच दिनको अवधिमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर दुई लाख ३७ हजारभन्दा बढीले हवाई यात्रा गरेका छन् ।

विमानस्थल कार्यालयको तथ्याङ्क अनुसार दसैँको फूलपातीदेखि पूर्णिमाको अघिल्लो दिनसम्म अर्थात् असोज २४ गतेदेखि २८ गतेसम्म आन्तरिकतर्फ एक लाख ६० हजार नौ सय १० र अन्तर्राष्ट्रियतर्फ ७८ हजार पाँच सय १२ जनाले हवाई यात्रा गरेका हुन् ।

विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार दसैँको सात दिन अर्थात् असोज २४ गते फूलपातीदेखि पूर्णिमाको अघिल्लो दिन ९असोज ३० गते० सम्म आन्तरिकतर्फ दुई हजार एक सय ५९ र अन्तर्राष्ट्रियतर्फ सात सय ८१ गरी कुल दुई हजार नौ सय ४० उडान भएका छन् । यो दुईतर्फी उडानको सङ्ख्या हो ।

दसैँको दुई दिन अर्थात् असोज २४ गते फूलपाती र असोज २६ गते (महाअष्टमी÷महानवमी) मा आन्तरिक र अन्तर्राष्ट्रिय दुवै गरी ६३ हजार दुई सय ४२ जनाले हवाई यात्रा गरेका थिए।

असोज १३ गतेदेखि असोज २८ गतेसम्म कुल चार लाख २७ हजार नौ सय ४६ जनाले हवाई यात्रा गरेको विमानस्थलले जनाएको छ। यसमा आन्तरिकतर्फ दुई लाख २३ हजार आठ सय ४७ र अन्तर्राष्ट्रियतर्फ दुई लाख ४० हजार ९९ यात्रुले आवतजावत गरेका छन्।

यसैगरी असोज १३ गतेदेखि असोज २८ गतेसम्म आन्तरिकतर्फ पाँच हजार एक सय आठ र अन्तर्राष्ट्रियतर्फ एक हजार सात सय ४४ गरी कुल ६ हजार आठ सय ५२ उडान सञ्चालन भएको विमानस्थलको तथ्याङ्कमा उल्लेख छ ।

यसअघि यही असोज १४ गते एकैदिन आन्तरिक उडान र अन्तर्राष्ट्रिय उडान गरी पाँच सय ५९ उडान भएका थिए । ती उडानमार्फत सोही दिन ३५ हजार सात सय चार जनाले हवाई यात्रा गरेका थिए। यही असोज ११ र १२ गतेको अविरल वर्षाका कारण मुलुकका विभिन्न स्थानमा बाढी पहिरोले सडक सञ्जाल अवरुद्ध हुँदा हवाई उडानको चाप बढेको थियो ।

अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान चाप बढेपछि विमानस्थलको टर्मिनल भवनमा यात्रुको खचाखच भिडभाड थियो। अहिले हवाई उडान सामान्य बन्दै गएको विमानस्थल कार्यालयले जनाएको छ। यही असोज १३, १४, १५ र १६ गते हवाई उडान चाप बढेको थियो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रियतर्फ तीन नेपालीसहित ३० विमान कम्पनीले उडान गर्दै आएका छन् भने आन्तरिकतर्फ सात विमान कम्पनीले सेवा दिइरहेका छन्। दसैँको समयमा आन्तरिकमा सुगम विमानस्थलमा ठुला एयरलाइन्सका विमानले उडान भरे।

निजी क्षेत्रको बुद्ध एयर, यती एयरलाइन्स तथा श्री एयरलाइन्सले बढी उडान भरेका थिए । यी कम्पनीसँग ठुला र मझौला विमान छन्। बुद्ध र यतीसँग एटीआर ७० विमान र श्री एयरलाइन्स ८० सिट क्षमताका ‘ड्यास एट’ विमान छन् ।

समिट एयर, तारा एयर र सीता एयरले लुक्लालगायत दुर्गम गन्तव्यमा उडान भर्ने गरेका छन्। नेपाल वायुसेवा निगमले आन्तरिक उडानमा मात्र दुई विमानले दुर्गम क्षेत्रमा उडान भर्दै आएको छ।

प्रकाशित मिति : २०८१ आश्विन ३० गते, बुधबार


Scroll to Top

Janata Media