
हुम्ला । वषैँ अघिदेखि खानेपानीको हाहाकार हुँदा स्थानीयहरु भोकै बस्न बाध्य भएका छन् । हुम्लाको सिमकोट गाउँपालिका वडा न ५ स्थित तल्लो गाउँका स्थानीय भोकै बस्न बाध्य भएका हुन् ।
खानेपानीको अभाव भएकै कारण बिहान उठेदखि बेलुकासम्म पानीकै जोहो गर्न बाध्य हुने परेको त्यहाँका स्थानीयहरुले दुःख व्यक्त गरेका छन् । दिनभर पानी पानीको लागि जोहो गर्न नसकिएपछि बेलुका हप्ता दिनसम्म पनि भोकै बस्नु परेको दुखेसो पोखेका छन् ।
खानेपानी दिनमा एकचोटी एक घण्टामात्रै आउने गरेको र कहिलेकाँही पानी नआउने भएकाले करिब ५ घण्टा लगाएर कर्णालीको पानी ल्याएर खानुपरेको त्यहँका स्थानीयहरुले आफ्नो बाध्यता उल्लेख गरेका छन् । स्थानीयहरु बबिता रोकाया, कुसुम रोकाया, ८० नाघेकी बुदि रोकाया , पिउली रावत, ६ वर्षिया रिसिता रावत, भरुनी रोकाया, मंगसरा रावत, औँसी बोहोरा, सम्झना रोकाया लगायत लगभग २० जना जनाभन्दा बढीले दुखेसो पोखेका हुन् ।
‘हामी अहिले पानी आऊला र भरौँला भनेर पर्खेको घण्टौँ सम्य भईसकेको छ । अझै पनि पर्खिरहेका छौँ । यदि पानी आएन भने भोकै बस्नुपर्ने हुन्छ । हामी त भोकै बस्न जेनतेन सक्छौँ । घरमा छोराछोरीलाई के गर्ने धेरै समस्या हुन्छ । यसैपनि ५/७ दिन भोकै बसि सक्य छौँ । पानी नआएकै धेरै भईसक्यो । अब कसैको आश छैन । नेताहरुले त झनै आश छैन । सँधै झुट मात्रै बोल्छन् ।’ स्थानीयहरुले जनता मिडियासँग मन खोलेर दःख व्यक्त गरे ।
नेताहरुप्रतिको बितृष्णा पोख्दै उनीहरु थप्छन्, ‘चुनावका बेला मात्रै भोट माग्न आउँछन् । जितिसकेपछि एकचोटी पनि गाउँमा आउँदैनन् । अनि हाम्रा समस्या कसरी बुझ्थे ? । भोट हाल्ने बेला त बोकेर पनि भोट हाल्न लिन्थे । अहिले वास्ता नै गर्दैनन् । यिनीहरुसँग अब केही आश छैन ।’
यसै क्रममा सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारीले खानेपानीको समस्या नै नभएको र भोकै बस्नुपरेको अवस्था पनि नरहेको ठाडो जवाफ दिएका छन् । ‘खानेपानीकै कारण भोकै बसेको यो झुठो हो । यसको समस्या समाधान गर्न हामी लागिरहेका छौँ । अब छिट्टै यसको समाधान हुन्छ । ति नागरिकले खानेपानीके कारण समस्या भोग्नु पर्दैन ।’ जनता मिडियासँग उनले भने ।
त्यस्तै खानेपानी मन्त्री प्रदिप यादवले खानेपानीको समस्या देशैभर भएको र हुम्लामा खानेपानीको समस्या अझै धेरै भएको स्विकार गरे । ‘खानेपानीको समाधानकै लागि मन्त्रालय सम्हालेको हुँ । छिट्टै समस्या बुझ्न त्यही अनुरुप काम गर्न मेरो नेतृव्मा मन्त्रालयको टिम हुम्ला जान्छौँ । यो समस्या छिट्टै समाधान गछौँ ।’ जनता मिडियासँग उनले भने ।
जनताहरुको नेताहरुप्रतिको बितृष्णा यो विषयमा पोखिएको छ । नेताहरुले चुनावका बेला भोटा माग्न मात्र आउँछन्, अनि हराउँछन् भन्ने मानसिकता स्थानीयहरुमा छ । नेता पनि चिन्न छोडिसकेका स्थानीयको आक्रोश छर्लङ्ग देखिएको छ । यसबाट सजिलै आँकलन गर्न सकिने कुरा जनताबाट चुनिएका जनप्रतिनिधि जनताप्रति उत्तरदायी नहुनु एकदमै दुःख पक्ष हो ।