एकपटक पुग्नैपर्ने लाप्चा नाका (लोलुङ्ग भञ्ज्याङ्)

जनता संवाददाता
२०८१ कार्तिक १३ गते, मंगलवार

गोरखबहदुर बोगटी,

हुम्ला । हुम्ला जिल्लाको नाम्खा गाउँपालिकाको उत्तरी सिमानामा रहेको लाप्चा नाका नेपाल र चीनबीचको सिमानामा रहेको एक महत्वपूर्ण नाका हो । यो करीब ५ हजार २ सय मिटरको उचाइमा रहेको छ । यो नाकाबाट नेपालकै भुभागबाट चीनको स्वशासित क्षेत्रः तिब्बतको भु-भागमा रहेको ऐतिहासिक तथा धार्मिक महत्व बोकेको पवित्र स्थलः मानसरोवर र कैलाशको नजिकबाट मनमोहक एवम् रमणीय दृश्यावलोकन गर्ने एक महत्त्वपूर्ण स्थान हो । यो हुम्लाको सदरमुकाम सिमकोटदेखी करिब १ सय ६ किलोमीटरको दुरीमा रहेको छ ।

बिहान सबेरै बोलेरो जीप तथा मोटर साइकलमा सदरमुकाम सिमकोटबाट गएर नाम्खा गाउँपालिकाकै वडा नम्बर ६ मा पर्ने टाक्ची वा तोलुङ्को स्थानीय होटेलमा बास बसेर सोही सवारी साधनबाट पछिल्लो बिहानै करीब २ घण्टाको समय पार गरेपछी लाप्चा नाकामा पुगिन्छ । हुम्ला पुग्नका लागि नेपालगन्जबाट प्लेनमा सदरमुकाम सिमिकोट पुगेर सडक मार्ग प्रयोग गर्न सकिन्छ भने केही दिन लगाएर सडक मार्ग प्रयोग गर्न चाहनेहरुका लागि सुर्खेतदेखी कर्णाली कोरिडोर हुँदै सिमकोट जान सकिने बिकल्प पनि रहेको छ ।

सिमकोटबाट लाप्चाका लागि भ्रमणमा जाँदा बिच बाटोमा रमणीय जङगल, लोपोन्मुख जङगली जनावर, विभिन्न प्रजातिका चराचुरुङ्गी, चट्टान तथा पहाडका आकर्षक दृश्य एवम् रमणीय भ्यालीको दृश्यावलोकन गर्न पाइन्छ । अझै स्पष्ट रुपमा भन्ने हो भने च्याछहरा झर्ना, चुइगुल चुचुरा (जोग्राफी च्यानलमा समेत प्रसारित हुने गरेको), छुङ्सा भ्याली, सेलीमा ताल, न्यालु लेक, सास्कृतिक सङ्ग्राहलयरुपी लिमी भ्याली, नजिकैबाट जंगली चौरी, नावरका बथान, जंगली घोडा, च्याखुरा, डाफेलगायतका विभिन्न जातिका चराचुरुङ्गी, विभिन्न प्रजातिका बिरुवा, फूल, जडीबुटी एवम् विभिन्न भ्यालीको दृश्यावलोकन गरेर भरपुर अध्ययन गर्न एवम् सन्तुष्टी लिन सकिन्छ ।

यसको साथै स्थानीय भेषभुषा एवम् संस्कृतिको बारेमा पनि हेर्न र बुझ्न पाइन्छ । यसैकारण यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकको संख्या पनि दिनप्रतिदिन बढिरहेको पाइन्छ । यस्तो महत्वपूर्ण ठाउँको जो कोहीले पनि अध्ययन भ्रमण गर्न सके अत्यन्त उपलब्धिमुलक हुनसक्ने कुरामा स्पष्टै छ । यति धेरै सम्भावना बोकेको स्थानमा जाने सडकको बिस्तार एवम् स्तरोन्नति गर्न गराउनका लागि तीनवटै तह (स्थानीय,प्रदेश र संघ) को सरकारको गम्भीर रुपमा ध्यान जान जरुरी छ ।

लेखक गोरखबहदुर बोगटी नेकपा(एमाले) का स्थायी कमिटी सदस्य र कर्णाली प्रदेश इन्चार्ज हुन् ।

प्रकाशित मिति : २०८१ कार्तिक १३ गते, मंगलवार


Scroll to Top

Janata Media