पं -बालमुकुन्द देबकोटा,
मिति २०८१ साल कार्तिक १८ गते आइतबार कार्तिक शुक्लपक्ष द्वितीया तिथि यो दिन भएकोले हुनाले भाईटिका गर्नु पर्दछ। भाईटिकाको साइत बिहान ११ :३७ बजे रहेको छ। यो दिन दिन भाई पश्चिम फर्केर दिदि-बहिनीको हातबाट लगाउनु पर्दछ।
तिहारको अन्तिम दिन अर्थात् कार्तिक शुक्ल द्वितीया तिथिका दिन यो पर्व विशेष उत्साहका साथ मनाइन्छ । यो पर्व दिदीले भाइलाइ र बहिनीले दाजुलाई अनि त्यसैगरी भाइले दिदीलाई र दाजुले बहिनीलाई विशेष मान-सम्मानका साथ विधिपूर्वक पूजाआजा गर्ने, मेवा-मिष्ठान्न आदि मनपर्ने कुरा ख्वाउने, दिदीबहिनीलाई दान-दक्षिणा एवं वस्त्र आदि दिने परम्परा छ । परापूर्वकालमा बहिनी यमुनाले यसै दिन आफ्नो भावना अन्तर्निहित गरेको पाइन्छ । दाजु यमराजलाई विशेष मान-सम्मान गर्दै भाइपूजा गरेको धार्मिक महत्त्व छ ।
यमपञ्चकका पाँच दिन यमराजले यमुनाको घरमा बास गर्छन् भन्ने हाम्रो धार्मिक विश्वास छ । यी पाँच दिन इन्द्रादि दश दिक्पालले बलि राजाका लागि आफ्नो राज्य छाड्ने कथा पनि पाइन्छ । भाइतिहारको दिन दियो, कलश र गणेशको पूजा गर्ने, यमराजको आह्वान गर्ने, बिमिरो, ओखर, तेल, मखमलीको माला, दूबोको टीका, कटुस आदिको प्रयोगमा आफ्ना दिदीबहिनी र दाजुभाइको सुख-समृद्धि, आरोग्य एवं दीर्घायूको कामना अन्तर्निहित छ । भाइटीकाको पौराणिक कथा परापूर्व कालमा मृत्युका राजा यमराज आफ्नी बहीनी यमुनालाई भेट्न आएका थिए । यमराज यमलोकमा बस्थे भने यमुना पृथ्वीमा । त्यसैले यमुनाले निमन्त्रणा गरी यमराजलाई भेट्न बोलाइन् । त्यो बेलामा यमपञ्चक परेको थियो । यमपञ्चकभर यमुना कहाँ बसे । भाइटीकाको दिन यमुनाले दाजुलाई पूजा गरी उपहार दिइन् र दाजुसँग आशीर्वाद लिइन् ।
त्यहीबेलादेखि नै भाइटीकाको प्रारम्भ भएको भनिन्छ । भाइटीकालाई लामो समयसम्म भेटघाट नभएका दाजुभाइसँग भेटघाट हुने, सम्बन्धमा आएको चिसोपन हटाई मिलन गराउने तथा सम्बन्धलाई अझ दिगो बनाउने माध्यमका रूपमा लिइन्छ । यमपञ्चकको पाँचौं दिन भाइटीका पर्छ । दिदीबहिनीले भाइटीकाको अघिल्लै दिन दाजुभाइलाई भाइटीकाको निम्ता स्वरूप पान-सुपारी, फूल आदि दिने चलन। भाइटीकाका दिन टीका नलगाई केही खानु हुँदैन भन्ने मानिसहरुको विश्वास छ। टीकाको दिन बिहानै नुहाएर अष्टचिरञ्जीवीको पूजा गर्नुपर्छ । यमराज, हनुमान्, विभीषण, परशुराम अष्ट चिरञ्जीवीभित्र पर्छन् । भाइटीका गर्न ओखर, तोरीको तेल, बिमिरा, मसला, मखमली, दूबो तथा सयपत्रीको माला, रोटी, मीठा(मीठा परिकारको आवश्यकता पर्छ । सबैभन्दा पहिले दियो, कलश तथा गणेशको पूजा गरी बिमिराको पूजा गरिन्छ । त्यसपछि दाजु-भाइको मंगलको कामना गर्दै ढोकामा ओखरको तथा यमराजको पूजा गरी कालको बाटो छेक्नुपर्छ ।
पानी तथा तेलले ७ घेरा हाली दाजुभाइलाई छेक्नुपर्छ । फूल, अक्षता, चन्दन तथा लाभाले पूजा गरी दाजुभाइको शिरमा तेल लगाइदिनुपर्छ । सगुनका रूपमा दही दिनुपर्छ । भाइटीकाका दिनमा दाजुभाइलाई लगाइदिने मखमली, सयपत्री तथा दूबोको मालाको छुट्टै महत्त्व छ । मखमली कहिल्यै ओइलाउँदैन, सयपत्रीको रंगकहिल्यै उडेर जाँदैन भने दूबो सधै हरियै रहन्छ । दिदीबहिनीले दाजुभाइको यश, आरोग्य, दीर्घायूको कामना गर्दै निधारमा सप्तरंगी टीका लगाइदिन्छन् । सप्तरंगी टीकामा भावना मिसिंदा शान्ति बर्षिन्छ । दाजुभाइप्रतिको प्रेम रंगजस्तै गाढा तथा निरोगी भैरहने विश्वास गरिन्छ। दिदीबहिनीले दाजुभाइलाई ढाकाको टोपी लगाइदिन्छन् । यसले आयु बढाउनुका साथै राष्ट्रियता झल्काउँछ ।टीका लगाएपछि उपहार आदान(प्रदान गरिन्छ । दाजुभाइ वा दिदीबहिनी नहुनेहरूले रानी पोखरी स्थित मन्दिरमा पूजाआजा गर्छन् ।
हिन्दू धर्ममा टीकाको धेरै महत्व छ, पूजा(पाठ पछि टीका थाप्दा आत्मामा धेरै आनन्दानुभूति हुन्छ। टीका विशेषतः रातो वा पहेलो रंगका लगाइन्छ। टीका निधारमा लगाइन्छ। तिहारमा लगाइने टीका सात रंगका हुन्छन्, पहेंलो, नीलो, सुन्तला रंगको, सेतो, हरियो, रातो र कालो। सात रंगका यी टीकालाई सप्तरंगी भनिन्छ।सतरंगी टीकालाई निधारमा उर्द्ध्वाकार रेखामा सिधा लगाइन्छ। यसबाट तीनवटा रंग घरमा पनि तयार गर्न सकिन्छ। हरियो रंगको लागि हरियो घास पिनेर तयार गरिन्छ, सेतो रंग चामल पिनेर र कालो रंग कोइलाबाट वा बत्तीको कालिबाट लिइन्छ।