केदारनाथ पहिरोमा हुम्लाका एकै परिवारका ३ जना बेपत्ता

जनता संवाददाता
२०८० श्रावण २० गते, शनिबार

काठमाडौँ । केदारनाथ प्रवेश गर्ने मुख्य विन्दुमा पर्ने गौरीकुण्डमा पहिरोले नेपालीले सञ्चालन गर्दै आएका तीन होटल बगाएको छ । पहिरोमा परी हुम्लाका एकै परिवारका ३ जना सहित जुम्ला पातारासी–३ चौरगाउँका एकै परिवारका ७, पातारासी–२ का ३ जना गरी १३ जना बेपत्ता भएका हुन् ।

उनीहरूको अहिलेसम्म सनाखत भएको छैन । हुम्लाका वीरबहादुर, उनकी पत्नी सुमित्रा र छोरी निशा पनि बेपत्ता भएको जनाएका छन् ।

पहिरोमा परेर पातारासीका १० जना बेपत्ता भएपछि जिल्ला प्रहरी कार्यालय जुम्लाले भारतमा काम गर्न जानेको विवरण संकलनका लागि प्रहरी परिचालन गरेको छ । डीएसपी प्रह्लाद कार्कीले डिल्लीचौर र तल्फी प्रहरी चौकीलाई तथ्यांक पठाउन भनिएको बताए ।

परराष्ट्र मन्त्रालयले दिल्लीस्थित नेपाली दूतावासलाई भारत सरकारसँग समन्वय गरेर बेपत्ताको खोजतलास गर्नका लागि निर्देशन दिएको छ । परराष्ट्रमन्त्री एनपी साउदका अनुसार मन्त्रालयको भारतसमेत हेर्ने दक्षिण एसिया महाशाखामार्फत दिल्लीस्थित नेपाली दूतावासलाई घटनाको पूर्ण जानकारी लिन निर्देशन दिइएको हो । उनले भने, ‘कति नेपाली छन् ? उनीहरूको उद्धार कसरी भइरहेको छ ? राहत मिलाउन र घटनाको पूर्ण जानकारी लिन निर्देशन दिएको छु ।’

प्रकाशित मिति : २०८० श्रावण २० गते, शनिबार


Scroll to Top

Janata Media