क्रिकेट टोली स्वदेश फिर्ता

जनता संवाददाता
२०८१ कार्तिक २२ गते, बिहीबार

काठमाडौँ । आइसिसी विश्वकप लिग–२ अन्तर्गत अमेरिका र क्यानडामा दुई वटा त्रिकोणात्मक सिरिज सकेर नेपाली राष्ट्रिय क्रिकेट टोली बिहीबार स्वदेश फर्किएको छ ।

टोलीलाई नेपाल क्रिकेट सङ्घ (क्यान) का पदाधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए । स्वदेश फर्किएपछि नेपाली टोलीका कप्तान रोहितकुमार मौडेलले क्यानडा र अमेरिकाको भ्रमण सन्तोसजनक नरहेको बताए ।

‘‘हामी जुन उद्देश्य लिएर क्यानडा र अमेरिका गएका थियौँ । दुवै स्थानमा चुक्यौँ । विशेषगरी क्यानडा हाम्रो प्रदर्शन राम्रो भएन । अमेरिकामा राम्रो खेलेपनि नतिजा हाम्रो पक्षमा आएन । यस टुरलाई समग्रमा हामीले मिसआउट गरेका छौँ,’’ रोहितले भने ।

नेपाली टोलीका कन्सलट्यान्ट प्रशिक्षक जगत टमाटाले पनि क्यानडामा टोलीको प्रदर्शन राम्रो नभएको बताए । उनले अमेरिकामा राम्रो खेलेर पनि नतिना आफ्नो पक्षमा नरहनु दुर्भाग्य भएको बताए ।

अमेरिका, स्कटल्यान्ड र नेपाल सम्मिलित यस सिरिजको पहिलो खेलमा नेपाल अमेरिकासँग तीन विकेटले पराजित भएको थियो । दोस्रो खेलमा नेपालले स्कटल्यान्डलाई पाँच विकेटले पराजित गरेको थियो । तेस्रो खेलमा नेपालले अमेरिकासँग ३७ रनले पराजित भएको थियो ।

यसअघि नेपालले क्यानडामा नेपाल, ओमान र क्यानडासम्मिलित सिरिज खेलेको थियो । त्यहाँ नेपाल तीन खेलमा पराजित हुँदा एक खेल वर्षाका कारण रद्द भएको थियो ।

लिग–२ मा कमजोर प्रदर्शन गरिरहेको नेपाल अहिले १२ खेलमा दुई जित, आठ हार र दुई खेल मौसमका कारण रद्द हुँदा ६ अङ्कसहित सातौँ स्थानमा छ ।

प्रकाशित मिति : २०८१ कार्तिक २२ गते, बिहीबार


Scroll to Top

Janata Media