सोह्रसय बालबालिकाले स्वर्णप्राशन सेवा

जनता संवाददाता
२०८१ मंसिर ६ गते, बिहीबार

काठमाडौं । बालबालिकाको मानसिक क्षमता बढाउने आयुर्वेद चिकित्सा पद्धति स्वर्णप्राशन एकै दिन सोह्रसय बढी बालबालिकाले सेवा लिएका छन् ।

लुम्बिनी प्रदेशको प्रादेशिक आयुर्वेद चिकित्सालय बिजौरीले तीन वर्षदेखि यो सेवा दिँदै आएको छ । बुधबार बिहान मात्र एक हजार ६ सय ६३ जना बालबालिकाले यो सेवा लिएका हुन् ।

प्रादेशिक आयुर्वेद चिकित्सालयको निरीक्षणका क्रममा आएका लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारूँ मगरले सरकारी अस्पतालमा दिइने सेवा सुधार गरे सेवाग्राहीको आकर्षण बढाउन सकिन्छ भन्ने स्वर्णप्राशनमा सेवा लिन आएका अभिभावकबाट सन्देश मिलेको बताए ।

मन्त्री सारुले यो सेवा प्रदेशको अन्य अस्पतालमा क्रमशः बिस्तार गरिने बताए । अस्पतालका बालरोग विशेषज्ञ डा. हरिशंकर चौधरीले प्रत्येक महिनाको पुष्य नक्षत्रको शुभ साइतमा बालबालिकालाई स्वर्णप्राशन खुवाइने गरिएको बताए । डा. चौधरीले बालबालिकाको रोगप्रतिरोधात्मक क्षमता बढाउन, हुर्कनका लागि स्वर्णप्राशनबाट फाइदा पुग्ने बताए ।

डा. चौधरीका अनुसार स्वर्णप्राशन मह, अश्वगन्धा, शंखपुष्पी, वाचालाई सुनको भष्मसँग मिसाएर तयार पारिन्छ । अस्पतालमा निमित्त निर्देशक सन्तोष ठाकुरले पछिल्लो समय आयुर्वेद उपचार पद्धतिमा सेवाग्राहीको आकर्षण बढेको बताए ।

उनले स्वर्णप्राशनका लागि जिल्लाको तुलसीपुर उपमहानगरपालिका बाहेक घोराही, शान्तिनगर, बबई, लमही, दंगीशरण गाउँपालिका र छिमेकी जिल्लाहरू रोल्पा, सल्यानबाट समेत अभिभावकहरू बालबालिका लिएर आउने गरेको बताए । जन्मिएको एक महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई स्वर्णप्राशन खुवाइने गरिएको छ ।

प्रकाशित मिति : २०८१ मंसिर ६ गते, बिहीबार


Scroll to Top

Janata Media