लुम्बिनीमाथि विराटनगरको सनसनीपूर्ण जित

जनता संवाददाता
२०८१ मंसिर १९ गते, बुधबार

काठमाडौँ । विराटनगर किङ्ग्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्समाथि सनसनीपूर्ण जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा बुधबार भएको खेलमा विराटनगरले लुम्बिनीलाई दुई विकेटले हरायो ।

तीन खेल खेलेको विराटनगरको यो पहिलो जित हो । लुम्बिनीले हारबाट खेलको सुरुवात गरेको छ । विराटनगर यसअघि पहिलो खेलमा जनकपुर बोल्ट्ससँग आठ विकेट र दोस्रो खेलमा सुदूरपश्चिम रोयल्ससँग ९० रनले पराजित भएको थियो ।

जितका लागि एक सय ९२ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको विराटनगरले १९.५ ओभरमा आठ विकेटको क्षतिमा एक सय ९३ रन जोड्दै लक्ष्य पूरा गरेको हो ।विराटनगरका लागि ओपनर लोकेश बमले सर्वाधिक ७१ रन बनाए । उनले ४७ बलमा तीन चौका र ६ छक्काको सहयोगमा अर्धशतकीय रन बनाए । लोकेश प्लेयर अफ दिन म्याच भए ।

यस्तै सिर अहमदले ४०, मार्टिन गुप्टिलले २८ र चेरिस सोलले अविजित १४ रन जोड्दै टोलीलाई जिताए । बलिङमा लुम्बिनीका दुर्गेस गुप्ताले तीन विकेट लिए । सद विन जफर र रामोन सिमोन्ड दुई दुई तथा विवेक यादवले एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ९१ रन बनाएको थियो । यो जारी लिगको सर्वाधिक ठुलो योगफल हो ।

लुम्बिनीका लागि कप्तान रोहित पौडेलले ४६ रन बनाए । उनले २९ बलमा चार चौका र दुई छक्काको सहयोगमा उक्त रन बनाएका हुन् । यस्तै टम मोर्सले ३०, विवेक यादवले अविजित १९, ओपनर अर्जुन साउदले १७, आशुतोष घिरैया र साद बिन जफरले १५र१५ र सन्दीप जोराले १२ रन बनाए ।

बलिङमा विराटनगरका इस्मत अलाम, राजन पुलामी र कप्तान सन्दीप लामिछानेले एक एक विकेट लिए ।

 

प्रकाशित मिति : २०८१ मंसिर १९ गते, बुधबार


Scroll to Top

Janata Media