नेपालगन्जमा शितलहर सुरु, जनजीन प्रभावित

जनता संवाददाता
२०८१ पुष ९ गते, मंगलवार

काठमाडौं । शितलहर सुरु भएपछि नेपालगन्जमा मंगलबारबाट चिसो बढेको छ। मंगलबारदेखि शितलहर चल्न थालेपछि जनजीवन प्रभावित भएको हो।

चिसो बढ्दै जाँदा बालबालिका र वृद्धवृद्धाहरु बिरामी हुनेक्रम पनि बढेको स्थानीय स्वास्थ्य संस्थाले जनाएका छन्।

शितलहर चलेर चिसो बढ्न थालेपछि जिल्लाका सबै पालिकालाई शितलहरमा सर्वसाधारणलाई जोगाउने उपाय अपनाउन आग्रह गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले जानकारी दिए।

उनले चिसो तथा शितलहरका कारण जोखिममा पर्नसक्ने खास गरी अति विपन्न परिवार, जेष्ठ नागरिक, बालबालिका, गर्भवती, सुत्केरी महिला तथा जोखिमयुक्त र उच्च जोखिमयुक्त क्षेत्र र समुदायको पहिचान गरेर उनीहरुलाई जोगाउनका लागि विभिन्न कदम चलाउन स्थानीय तहलाई आग्रह गरिएको बताए ।

भेरी अस्पतालका सूचना अधिकारी डा. संकेतकुमार रिसालले चिसो सुरु भएदेखि नै भेरी अस्पतालमा चिसोको कारण हुने समस्या लिएर बिरामी आउन थालेको बताए । उनले रुघाखोकी, ज्वरो, निमोनिया र पखाला जस्ता रोगले ग्रस्त बनाएपछि बालबालिका अस्पताल पुगेका छन्।

चिसो बढेसँगै नेपालगन्ज मेडिकल कलेजको नेपालगन्ज शिक्षण अस्पतालमा बिरामीको चाप बढेको अस्पतालका सहनिर्देशक डा. रोमन किदवाईले जानकारी दिए।

 

प्रकाशित मिति : २०८१ पुष ९ गते, मंगलवार


Scroll to Top

Janata Media