गुल्मीका ११ हजारभन्दा बढी छात्रालाई एचपिभी खोप

जनता संवाददाता
२०८१ माघ १० गते, बिहीबार

काठमाडौं । गुल्मीका ११ हजारभन्दा बढी छात्रालाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप लगाइने भएको छ।

जिल्लाका दुई नगरपालिका र दश गाउँपालिका गरी १२ स्थानीय तहका विद्यालयमा अध्ययनरत ११ हजार ४४ छात्रा र विद्यालय बाहिर रहेका १० देखि १४ वर्षसम्मका २४४ जना किशोरीलाई एचपिभी खोप लगाउन लागिएको स्वास्थ्य कार्यालय गुल्मीका जनस्वास्थ्य अधिकृत पशुपति आचार्यले जानकारी दिए।

सामुदायिक १८५ र संस्थागत २५ गरी कुल २१० विद्यालयमा कक्षा ६ देखि दशसम्म अध्ययनरत छात्राहरुलाई एचपिभी खोप लगाइने भएको हो।

एचपिभी खोप अभियान देशभर एकैसाथ यहि माघ २२ गतेदेखि फागुन ६ गतेसम्म सञ्चालन हुने हुँदा गुल्मीका स्थानीय तहका स्वास्थ्य शाखासँग समन्वय गरी खोप अभियान एकैसाथ सञ्चालन गर्न लागिएको छ।

जनस्वास्थ्य अधिकृत आचार्यका अनुसार यस जिल्लाको रेसुङ्गा नगरपालिकाका विद्यालयमा कक्षा ६ देखि १० सम्म अध्ययनरत एक हजार ५०५ छात्रा र विद्यालय बाहिर रहेका १३ जना किशोरीलाई एचपिभी खोप लगाइनेछ।

मुसिकोट नगरपालिकाका विद्यालयका एक हजार १५२ र विद्यालय बाहिर रहेका किशोरी ७४, कालीगण्डकी गाउँपालिकाका विद्यालयका ५४४, सत्यवती गाउँपालिकाका विद्यालयका ७६९, चन्द्रकोट गाउँपालिकाका विद्यालयका ६९० र विद्यालय बाहिर रहेका किशोरीहरु पाँच जनालाई एचपिभी खोप लगाइनेछ।

इस्मा गाउँपालिकाका विद्यालयलका ९०२ र विद्यालय बाहिर रहेका किशोरीहरु ३५, मालिका गाउँपालिकाका विद्यालयका एक हजार ५५६, मदाने गाउँपालिकाका विद्यालयका ९८२ र विद्यालय बाहिर रहेका किशोरीहरु २५, धुर्कोट गाउँपालिकाका विद्यालयका ८७३ र विद्यालय बाहिर रहेका किशोरीहरु ४६, गुल्मीदरबार गाउँपालिकाका विद्यालयका ६४३ र विद्यालय बाहिर रहेका किशोरीहरु पाँच, छत्रकोट गाउँपालिकाका विद्यालयका ७५२ र विद्यालय बाहिर रहेका किशोरीहरु २६, रुरुक्षेत्र गाउँपालिकाका विद्यालयका ६७६ र विद्यालय बाहिर रहेका किशोरीहरु १५ जनालाई एचपिभी खोप लगाइने उनले जानकारी दिए।

खोप लगाउनका लागि जिल्ला स्वास्थ्य कार्यालयले १८६ जना स्वास्थ्यकर्मी र ३७२ जना स्वास्थ्य स्वयंसेवक परिचालन गर्ने भएको छ । जिल्लामा रहेका विद्यालयमा कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्राको नामावली संकलनसंगै विद्यालय नजाने १० देखि १४ वर्षसम्मका किशोरीको नामावली स्वास्थ्य संस्थाले संकलन गर्ने वा संख्या अनुमान गरी महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरु र स्थानीय तहसंग समन्वय गरेर लक्षित संख्या निर्धारण गरिएको हो।

प्रकाशित मिति : २०८१ माघ १० गते, बिहीबार


Scroll to Top

Janata Media