निसीखोलामा टिप्पर दुर्घटना, चालकको ज्यान गयो

जनता संवाददाता
२०८१ फाल्गुन ३ गते, शनिबार

काठमाडौं । बागलुङको निसीखोला गाउँपालिकामा टिप्पर दुर्घटना हुँदा चालकको ज्यान गएको छ । शनिबार दिउँसो मध्यपहाडी लोकमार्गको रुकुमपूर्वबाट ढोरपाटन नगरपालिकाको बुर्तिङतर्फ आउँदै गरेको ग. १ क. ६१८९ को टिप्पर निसीखोला गाउँपालिका –६ लामिडाँडामा दुर्घटना हुँदा गुल्मीको इस्मा गाउँपालिका –३ का अन्दाजी ४७ वर्षीय चालक कृष्ण कुमालको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाग्लुङका प्रहरी निरीक्षक सुनिल शर्माले जानकारी दिए ।

दुर्घटनाग्रस्त टिप्पर सडकदेखि अन्दाजी दुई सय मिटर तल खसेको शर्माले बताए । दुर्घटना भएको खबर पाएलगत्तै प्रहरीचौकी निसी र इलाका प्रहरी कार्यालय बुर्तिबाङको टोली घटनास्थल पुगेको थियो । दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरी निरीक्षक शर्माले जानकारी दिए ।

प्रकाशित मिति : २०८१ फाल्गुन ३ गते, शनिबार


Scroll to Top

Janata Media