राराको एक होटेलमा आगलागी, चार भवन नष्ट

जनता संवाददाता
२०८१ फाल्गुन १५ गते, बिहीबार

मुगु । रारा तालको किनारमा अवस्थित एक होटेलमा गएराति आगलागी हुँदा चारवटा भवन जलेर नष्ट भएका छन् ।

आगोबाट काठैकाठको संरचनाले बनेको ती भवनमा क्षति पुर्याएको जनाइएको छ । नेपाली सेना, कर्मचारी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले आज बिहान आगो नियन्त्रणमा लिएका थिए ।

आगलागीको जानकारी प्राप्त हुनासाथ जिल्ला सदरमुकाम गमगढीबाट प्रहरी नायब निरीक्षक दीपक केसीको नेतृत्वका १५ जनाको प्रहरी टोली रारा पुगेको थियो ।

जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार होटेलको भान्साबाट सुरु भएको आगोले त्यहाँ रहेका ग्यासको सिलिन्डर पड्कदा अन्य तीनवटा भवनमा क्षति पुगेको थियो ।

प्रहरी, सेना र सशस्त्र प्रहरीले होटेलमा रहेका पाहुनालाई तत्काल उद्धार गरी नजिकै रहेका होटेल, सेनाको ब्यारेक, निकुञ्ज कार्यालयमा सारिएको थियो । घटनाको पूर्ण विवरण आउन बाँकि छ ।

प्रकाशित मिति : २०८१ फाल्गुन १५ गते, बिहीबार


Scroll to Top

Janata Media