
काठमाडौँ । काठमाडौंको टोखामा आइतबार प्रहरीले गोली प्रहार गर्दै फरार अभियुक्त गुड्डु पटेललाई पक्राउ गरेको छ। पक्राउ गर्ने क्रममा भाग्न खोजेपछि प्रहरीले गोली चलाएको थियो। जसबाट पटेल घाइते भएका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पटेल साढे दुई वर्षअघि जोरपाटीमा गोली हानी हत्या गरिएका लाल मोहम्मद हत्या प्रकरणमा संलग्न सुटर हुन्। उनलाई नियन्त्रणमा लिन डिएसपीको कमाण्डमा खटिएको प्रहरी टोलीले टोखामा अपरेसन चलाएको थियो।
अपराध अनुसन्धान कार्यालयका प्रवक्ता काजीकुमार आचार्यका अनुसार पक्राउको क्रममा भाग्न खोजेपछि प्रहरीले खुट्टामा गोली प्रहार गरेको थियो। आचार्यले जनता मिडियासँग भने, ‘उनी लाल मोहम्मद हत्याका भारतीय सुटर हुन् लामो समयदेखि फरार थिए, काठमाडौं आएका बेला पक्राउ गर्न खोज्दा भाग्न थालेपछि गोली चलाउनु पर्यो।’ उनका अनुसार यस घटनामा संलग्न अन्यलाई भने प्रहरीले नियन्त्रणमा लिइसेकेको छ।
२०७९ असोज ३ गते भक्तपुरको गोठाटारमा मोहम्मदको हत्या भएको थियो। दुई जना सुटरले मोहम्मदलाई कपडा प्याक गर्ने प्लास्टिक लिएर जोरपाटीबाट फर्कने क्रममा गोली प्रहार गरी हत्या गरेका थिए।
घटनामा संलग्न मुख्य अभियुक्तको रूपमा पटेलको पहिचान भएपछि प्रहरीले उनलाई पक्राउ गर्न खोजेको थियो। प्रहरीले अहिले पटेललाई उपचारका लागि अस्पताल पुर्याएको छ भने घटनाका थप अनुसन्धान जारी रहेको जनाएको छ।