काठमाडौं । फिफा विश्वकप २०२६ दक्षिण अमेरिकी क्षेत्र छनोटमा अर्जेन्टिनाले बोलिभियालाई पराजित गर्दै लगातार दोस्रो जित हात निकालेको छ।
लियोनल मेस्सी बिना मैदान उत्रेको अर्जेन्टिनाले १० खेलाडीमा समेटिएको बोलिभियालाई उसैको मैदान लापाजमा ३–० ले पराजित गरेको हो।
आज बिहान सम्पन्न खेलमा अर्जेन्टिनालाई सहज जित दिलाउन एन्जो फर्नान्डेज, निकोलस ट्याग्लिफिको र निकोलस गोन्जालेजले १–१ गोल गरे।
खेलको ३१औं मिनेटमा एन्जो फर्नान्डेजले डि मरियाको पासमा पहिलो गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए।
३९औं मिनेटमा रोबर्टो फर्नान्डेजले रातो कार्ड पाएपछि बोलिभिया १० खेलाडीमा समेटियो। त्यसपछि ४२औं मिनेटमा ट्याक्लिफिकोले डि मरियाकै पासमा गोल गर्दै अर्जेन्टिनालाई २–० को अग्रता दिलाए।
अर्जेन्टिनाका लागि तेस्रो गोल निकोलस गोन्जालेजले ८३ औं मिनेटमा गरे। १० टिम सम्मिलित दक्षिण अमेरिकी क्षेत्रको छनोटमा अर्जेन्टिना लगातार दुई जितबाट ६ अंक जोडेर शीर्ष स्थानमा छ।
यस्तै आज बिहान सम्पन्न अन्य खेलमा इक्वेडरले उरुग्वेलाई २–१ ले पराजित गरेको छ भने पाराग्वेविरुद्ध भेनेजुएलाले १–० जित निकालेको छ।







