कांग्रेस क्रियाशील सदस्यता वितरण तीव्र

जनता संवाददाता
२०८१ चैत्र १ गते, शुक्रबार

काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनको लक्षित गरी क्रियाशील सदस्यता वितरण कार्य तीव्र पारिएको छ । महामन्त्री गगनकुमार थापा संयोजकत्वको क्रियाशील सदस्यता वितरणसम्बन्धी समितिको निर्देशनपछि मात्रै सदस्यता वितरणले तीव्रता पाएको हो ।

समितिले पार्टीका सबै कार्यसमितिले क्रियाशील सदस्यता नवीकरण र वितरण कार्य सम्पन्न गरी निर्णयको प्रतिलिपि, अद्यावधिक विवरण, सदस्यता शुल्कसहितका कागजात तथा जिल्लाको प्रतिवेदन २०८१ चैत २९ गते केन्द्रीय कार्यालयमा पठाउन निर्देशन दिएपछि मात्रै वडास्तरबाटै सदस्यता वितरणको काम अघि बढेको हो ।

कांग्रेस केन्द्रीय सदस्य प्रकाश स्नेही रसाइलीका अनुसार एकभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएका क्षेत्रीय कार्यसमितिले प्रदेश सभा कार्यसमितिबाट प्राप्त क्रियाशील सदस्यता नवीकरण फाराम चैत १५ गते पठाउन भनिएको छ ।

उनले भने, “क्रियाशील सदस्यता वितरणमा पनि गम्भीर स्वार्थ देखिएको छ । आफूलाई सहयोग गर्छन्–गर्दैनन् भन्ने सन्देहले वितरण कार्य नै रोकेको पाइयो । त्यसले हस्तक्षेप गर्ने गरी समिति अघि बढेपछि मात्रै यो काम अघि बढ्यो ।”

कांग्रेसको क्रियाशील सदस्यतासम्बन्धी समितिमा महामन्त्री थापासँगै केन्द्रीय सदस्यहरू सीता गुरुङ, योगेन्द्र चौधरी र स्नेही छन् । कांग्रेस केन्द्रीय सदस्य एवं सूचना सञ्चार तथा प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माका अनुसार क्रियाशील सदस्यताबारे वडाले प्रस्ताव गरेपछि पालिकाले सिफारिस गर्ने छ । उनले क्षेत्रीय समितिले पारित गरेर जिल्ला र प्रदेशले अनुमोदन गरेपछि मात्रै केन्द्रमा आइपुग्ने बताए ।

उनले भने, “वडा अधिवेशन, पालिका अधिवेशन, प्रदेश क्षेत्रीय अधिवेशन, सङ्घीय संसदीय क्षेत्रको अधिवेशनसहित छ तहको अधिवेशन सकिएपछि १५ औँ महाधिवेशन हुने छ । त्यसैले अहिले हाम्रो जोड क्रियाशील सदस्यता नवीकरण र वितरणमै छ ।”

 

प्रकाशित मिति : २०८१ चैत्र १ गते, शुक्रबार


Scroll to Top

Janata Media