काठमाडौँ । स्थानीय नेवार समुदायको दसैँपछिको ठुलो पर्व पाँहाचह्रे शुक्रबार (आज) मनाइँदै छ ।
हरेक वर्ष घोडेजात्राको अघिल्लो दिनदेखि तीन दिनसम्म काठमाडौँ उपत्यकावासीले यो पर्व मनाउने गर्छन् । कसैले यसलाई पासाचह्रे पनि भन्ने गर्छन् ।
नेवार भाषामा पाहाँको अर्थ पाहुना र पासाको अर्थ साथी हो । चन्द्रमासको क्यालेन्डर अनुसार चौथौ दिनलाई चह्रे भनिन्छ ।
यो चाडमा खाइने वस्तुमध्ये लसुन मुख्य भएकाले यस चाडलाई ‘लसुने चाड’ पनि भन्ने गरिने संस्कृतिविद् पुरुषोत्तमलोचन श्रेष्ठले बताए ।
उनले यो चाडलाई काठमाडौँमा नेवार समुदायले दसैँ र तिहार झैँ मनाउँदै आएको बताए । यस पर्वमा बिहान भद्रकाली, रक्तकाली, श्वेतकाली, कङ्केश्वरीलगायत शक्तिपीठमा गएर देवीको पूजाआजा गरिन्छ ।
बेलुका भने भष्मासुरको डरले लुकेर बसेका महादेवको पूजा गरिन्छ । उनले भने, ‘‘लुकु महाद्यः भन्दै महादेवको एउटा आकृतिलाई जमिनमुनि लुकाएर पूजा गर्ने परम्परा छ । घर घरमा खाल्डोमा राखिएका महादेवलाई लसुन राखेर पूजा गरिन्छ ।’’
स्थानीय पुजारी राजन महर्जन भन्छन्, “विभिन्न स्थानमा अन्य देवीदेवताको खट जात्रा गरी पाँहाचह्रे पर्व मनाउने चलन छ ।” उनले कङ्केश्वरीदेवीलगायतका विभिन्न देवताका मूर्तिको खटजात्रा गर्ने परम्परा रहिआएको बताए ।
पाँहाचह्रे पर्वको दोस्रो दिन अर्थात् घोडेजात्रामा दुई वर्षसम्मका बालबालिकालाई मरःजा खुवाउने गरिन्छ । ८४ व्यञ्जनसहितको उक्त परिकार खुवाउँदा बालबालिका निरोगी हुने र भूतप्रेतले नसताउने जनविश्वास छ ।
पाँहाचह्रेको अन्तिम दिन दिउँसो असनमा देवीको खट जुधाउने जात्रा गरिन्छ ।







