
काठमाडौँ । हुम्लाको सिमकोट गाउँपालिकाले पुरानो प्रशासकिय अधिकृत नै यथावत् गर्ने निर्णय गरेको छ । गाउँपालिका उपाध्यक्ष तथा कार्यवाहक अध्यक्ष शुशिला रोकायाको अध्यक्षतामा बसेको कार्यपालिकाको बैठकले पुरानो अधिकृत नै यथावत् गर्ने निर्णय गरेको हो ।
उक्त निर्णयमा गाउँपालिकाका प्रवक्ता समेत रहेका वडा नं ६ का वडाध्यक्ष नन्द रावतले असहमति रहेको लिखित रुपमा जनाएका छन् । यता हाल नेपालगंज रहेका गाउँपालिका अध्यक्ष विजय भण्डारीले आफूले त्यो निर्णय नगरौँ, हामी सरकारको निति नियम विरुद्ध जानु हुन्न भनेर भन्दा पनि आफ्नो कुरा नसुनेर हतार हतार निर्णय लिएको र आफ्नो असहमति रहेको बताएका छन् ।
जनता मिडियासँग उनले भने, ‘यो निर्णय नितान्त सरकार सञ्चालनको प्रणाली विरुद्ध छ । मैँले कार्यपालिका बैठक बस्नु पूर्व यो निर्णय नगर्न निर्देशन दिएको थिँए । तर हतार हतार उनीहरुले यो निर्णय गरे ।’
‘जिल्लाको सदरमुकाम जस्तो पालिकाले नै यस्तो काम गर्यो भने अरु पालिकाहरुले के गर्लान् ? त्यसकारण यो निर्णयका आधारमा कार्यकारी नै यथावत् रहने भन्ने हुँदैन । मन्त्रालयले जसलाई खटाएको छ उहाँ नै कार्यालयमा हाजिर हुनुहुन्छ ।’ उनले भने ।
आज बसेको कार्यपालिकाको बैठकले अन्य ९ ओटा निर्णय समेत गरेको छ । सिसन बानिँया र उनको टिमलाई पर्यटन प्रवद्र्धनका लागि ३,००,००० (रु. तिन लाख) उपलब्ध गराउने निर्णय समेत गरेको छ ।
निर्णय नं १० हेर्नुहोस्:
“संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट यस गाउँपालिकामा प्रमुख प्रशासकिय अधिकृत खटाएको हुँदा यस सिमकोट गाउँपालिकामा जिल्ला बाहिरको मान्छे जिल्लामा नबस्ने हुँदा गाउँपालिकाबाट जनतालाई सेवा दिने काममा असुविधा हुने र बेलाबेलामा जिल्ला बाहिर गई काममा बाधा पर्ने र ३।४ वर्षसम्म यहाँका स्थानीय सातौं तहका अधिकृतले मन्त्रालयबाट नैं प्रमुख प्रशासकियको जिम्मेवारी पाई कामकाज गर्दै आएको र गाउँ पालिकाबाट दिने सेवा सुविधा छिटो छरितो भएको र १२ महिना जनताले सेवा पाएको हुँदा मन्त्रालयबाट अर्को प्रमुख प्रशासकीय अधिकृत नपठाई दिन हुन अनुरोध गर्ने निर्णय गरियो ।” यस निर्णयमा गाउँपालिकाका प्रवक्ता समेत रहेका वडा नं ६ का वडाध्यक्ष नन्द रावतको असहमति छ ।