काठमाडौं । बागमती प्रदेश सरकारले बागमती प्रदेशको क्यालेन्डरमा चार सार्वजनिक बिदा समावेश गर्ने निर्णय गरेको छ ।
सोमबार बसेको बागमती सरकार मन्त्रिपरिषदको बैठकले यसअघि मन्त्रिपरिषदको बैठकबाट निर्णयार्थ दिइने चार सार्वजनिक बिदालाई आगामी वर्ष २०८२ सालको क्यालेन्डरमा समावेश गर्ने निर्णय भएको सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिए ।
बैठकले फागुनको तेस्रो शनिबार माझी समुदायले मनाउने लदी पर्व, सोनाम ल्होसार भदौ २२, प्रदेश सरकारको सरकारी कामकाजी भाषा दिवस वैशाख २४ र गाईजात्रा साउन २५, मा दिइने सार्वजनिक बिदालाई क्यालेन्डरमा समावेश गरेको हो ।
बैठकले भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गतको ललितपुर डिभिजन वन कार्यालयका प्रमुख राजु श्रेष्ठलाई थप ६ महिनाका लागि जिम्मेवारीमा राखिने निर्णय गरेको छ ।
श्रेष्ठको कार्यकाल समाप्त भएता पनि अर्का प्रमुख व्यवस्था नभएसम्मका लागि उनलाई जिम्मेवारीमै राखिने निर्णय प्रदेश सरकारले गरेको हो ।
त्यस्तै, बैठकले प्रदेश निति तथा योजना आयोगको गठन तथा सञ्चालनका लागि ऐन तयार गरी मस्यौदा निर्माणका लागि प्रारम्भिक रूपमा स्वीकृति प्रदान गरेको छ । त्यस्तै बैठकले प्रदेश समपूरक अनुदानसम्बन्धी कार्यविधि २०८१ लाई स्वीकृति दिएको छ ।







