स्वास्थ्य कर्मचारीको पदस्थापन अन्योलमा

जनता संवाददाता
२०८१ चैत्र १९ गते, मंगलवार

काठमाडौं । मधेश प्रदेश सरकारले लोकसेवा मार्फत छनोट भएका सहायक पााँचौ तहका स्टाफ नर्सहरुलाई सिफारिस गरेको दुई महिना हुँदा पनि पदस्थापन प्रक्रिया अझै टुंगो नलाग्दा स्टाफ नर्सहहरु अन्यौलमा परेका छन् ।

गत माघ १९ गतेको सूचना अनुसार स्वास्थ्य सेवा, जनरल नर्सिङ समूह, सहायक पााँचौ तहका १२ जना स्टाफ नर्सहरूलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा स्थायी नियुक्तिका लागि सिफारिस गरिएको थियो । तर सिफारिस गरेको दुई महिना बित्दा पनि पदस्थापन हुन नपाउँदा उनिहरु अन्योलमा परेका हुन् ।

प्रदेश लोकसेवा आयोग मधेश प्रदेशले आर्थिक वर्ष २०७९-८० मा खुलाएको विज्ञापनमा स्वास्थ्य सेवा, जेनेरल नर्सिङ समूह, सहायक पाँचौं तह, स्टाफ नर्स पदको संख्या माग गरेको थियो । जसबाट १२ जना छनोट भई सिफारिस भएका थिए । तर, ती १२ जनालाई मन्त्रालयले सिफारिको डेढ सातापछि मात्र नियुक्ति पत्र दिएको थियो ।

नियुक्ति पाएका नर्सहरु डेढ महिनादेखि मन्त्रालयमा नै हाजिरी गर्दै आइरहेका छन् । नाम नखुलाउने सर्तमा एक स्टाफ नर्सले पहिलो पटक नाम निकाल्न सफल भएको उत्साह बेग्लै थियो । तर, डेढ महिनासम्म पदस्थापन नहुँदा उनको उत्साह निराशामा बदलिएको बताए । उनले भने, “मेरो पहिलो जागीर हो, लोक सेवामा नाम निकालेर निकै उत्साहित भएको थिए ।

तर, पदस्थापन भएर काम गर्न नपाउँदा मेरो उत्साह निराशामा बदलिएको छ । मन्त्रालयले नियुक्ति पत्र दिनमा पनि डेढ साता लगायो, अब पदस्थापनका लागी पनि आजभोली भन्दै अढाई महिनादेखि मन्त्रालयमा हाजिरी गराउँदै आएका कारण अन्योलमा छु ।”

यस्तै नियुक्ति पाएका अर्का नर्सले पनि भन्नुभयो, “नियुक्ति पत्र पायौं, तर कहाँ जानुपर्ने भन्ने अन्यौल छ । हाम्रा लागि यो असमञ्जसपूर्ण अवस्था हो ।” मन्त्रालयले कहिले पायक पर्ने ठाउँ मिलाउँदै छौं, कहिले पुरानो फाइल हरायो भन्छ । तर, किन ढिलाई गरेको भन्ने यकिन हुन सकेको छैन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मधेश प्रदेशका निमित्त सचिव राजेशकुमार मिश्रका अनुसार मन्त्रालयले स्टाफ नर्सको माग संख्या ४ थियो, तर तीन पटक गरी ४÷४ जना गरी १२ जना माग गरियो ।

यस कारण चार जनाको ठाउँमा १२ जनाको नाम सिफारिस हुँदा कसरी मिलाउने भन्ने अन्यौल देखिएको छ । “यो गल्ती मन्त्रालयले माग फारम भर्ने क्रममा गरेको हो, जसले गर्दा अहिले पदस्थापन प्रक्रियामा ढिलाइ भएको छ, निमित्त सचिव मिश्रले भने ।

यसअघि मन्त्रालयले कर्मचारीको अभावका कारण पदस्थापन प्रक्रियामा ढिलाइ भइरहेको कारण देखाउँदै आइरहको थियो । यस विषयमा लोकसेवा आयोग मधेश प्रदेशका प्रवक्ता गंगेश गुंजन झाले लोकसेवा आयोगले माग गरेअनुसारकै विज्ञापन खोल्ने स्पष्ट पारे ।

उनले भने,“यदि कुनै त्रुटि भएको भए सम्बन्धित निकायले आयोगलाई जानकारी गराउनुपर्ने थियो, तर अहिलेसम्म त्यस्तो जानकारी आएको छैन । अर्कोतर्फ, परीक्षार्थीहरूबाट पनि कुनै उजुरी आएको छैन ।”

प्रवक्ता झाका अनुसार जबसम्म कसैले औपचारिक उजुरी गर्दैन, तबसम्म लोकसेवाले कुनै प्रक्रिया अगाडि बढाउन सक्दैन। यदि कसैले उजुरी दर्ता गरायो भने मात्र आयोगले यस विषयमा थप प्रक्रिया अघि बढाउनेछ ।

प्रकाशित मिति : २०८१ चैत्र १९ गते, मंगलवार


Scroll to Top

Janata Media