
काठमाडौँ । सत्ता साझेदार नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले) का शीर्ष नेता सम्मिलित उच्चस्तरीय राजनीतिक संयन्त्र र कार्यदलको बैठकले सरकारका कामकारबाही सकारात्मक दिशामा रहेको निष्कर्ष निकालेको छ ।
प्रधानमन्त्रीनिवास बालुवाटारमा बुधबार प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासहित शीर्ष नेता सम्मिलित बैठकले आर्थिक सुधार र राजनीतिक स्थिरताका सन्दर्भमा सरकार सही ‘ट्र्याक’ (बाटो) मा रहेको निष्कर्ष निकालेको हो । बैठकपछि गृहमन्त्री एवं कांग्रेस नेता रमेश लेखकले सरकारको कामकारबाहीलाई अझै तीव्रता दिनुपर्ने समझदारी भएको बताए । साथै उनले सत्ता सहयात्रामा कुनै समस्या नरहेको पनि बताए । कांग्रेस महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले सरकारका कामकारबाहीको आलोचना गरिरहँदा बसेको उच्चस्तरीय संयन्त्रको बैठकले सत्ता साझेदार दलमा खटपट नरहेको प्रस्ट पारेको छ ।
गृहमन्त्री लेखकले भने, “समसामयिक राजनीतिक सन्दर्भमा कुरा भएको छ । बाहिर जुन ढङ्गले सरकारमा समस्या भयो कि भन्ने कुरा आइरहेको छ, दुई दलबिचमा समस्या भयो कि भन्ने कुरा आइरहेको छ, त्यस्तोखालको कुनै समस्या छैन । शीर्ष नेतासहित हामी बसेका छौँ । सरकारका कामलाई अझै गतिशील बनाउन बलियो समझदारी निर्माण भएको छ ।”
बैठकमा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा, एमाले महासचिव शङ्कर पोखरेल, प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमालसहितका नेता सहभागी थिए ।
शिक्षकका माग संसद्बाटै सम्बोधन
दुई दलीय संयन्त्र र कार्यदलको नियमित बैठकले शिक्षकका माग संसद्बाटै सम्बोधन गर्ने निष्कर्ष निकालेको छ । गृहमन्त्री लेखकले भने, “मन्त्रीपरिषद्को मङ्गलबारको बैठकले नै शिक्षकको आन्दोलनका मुद्दालाई सम्बोधन गरेको छ । सरकारले शिक्षकसँग पनि संवाद गरिरहेको छ । शिक्षकका माग आगामी अधिवेशनबाट सम्बोधन हुन्छन् ।”
उहाँले सभामुख देवराज घिमिरेले आगामी संसद्को अधिवेशन बजेट अधिवेशन भएकाले अरू विधेयक अघि बढाउन सकिन्छ कि सकिँदैन भन्ने आसयसाथ अभिव्यक्ति दिए पनि सरकारले प्रस्तुत गरेको शिक्षासम्बन्धी विधेयकलाई निष्कर्षमा पु¥याउने बताए । उनले भने, “विधेयकको प्रस्तुतकर्ता सरकार हो । यो संसद्कै सम्पत्ति हो । निष्कर्षमा पु¥याउने संसद्ले नै हो ।
संसद्माथि कसैको हस्तक्षेप हुने कुरा भएन तर सरकार शिक्षासम्बन्धी विधेयकको प्रस्तुतकर्ता भएको हुनाले चाँडै टुङ्ग्याउने विषयमा सरकारले सहजीकरण गर्छ, सहयोग गर्छ, काम गर्छ । आउने अधिवेशनमा टुङ्ग्याउन सकिन्छ ।”
उनले शिक्षकको माग पनि शिक्षा विधेयकलाई निष्कर्षमा पु¥याउनुपर्ने नै भएकाले यो विषय टुङ्ग्याउन पनि बोलाइएको प्रस्ट पारे । उनले भने, “यही अधिवेशनबाटै शिक्षा विधेयक निष्कर्षमा पुग्छ । त्यही ढङ्गले शिक्षकले लिनु पर्छ ।” गृहमन्त्री लेखकले सरकारको कार्यशैलीका सन्दर्भमा पनि छलफल भएको बताए । कांग्रेसभित्र सरकारको आलोचनाको विषयमा टिप्पणी गर्दै उनले भने, “सरकारले राम्रैसँग काम गरिरहेको छ । नेताहरूले आ–आफ्नो कुरा राख्नुहुन्छ तर आर्थिक सूचकाङ्क सुधारतिर गएका छन् । सरकारका तर्फबाट गरिने सेवा प्रभावमा सुधार भएको छ । त्यो परिणामले, सूचकाङ्कले देखाइरहेको छ ।”
उनले नेपाल राष्ट्र बैङ्कबाट सार्वजनिक पछिल्लो प्रतिवेदनले पनि आर्थिक सुधारको सङ्केत गरेका कारण सरकारको गति ठिक ढङ्गले अघि बढेको छ भन्ने पुष्टि हुने बताए । उनले भने, “यी कुरा तथ्य र तथ्याङ्कले हेर्नु पर्छ, भाषणमा मात्रै हेरेर हुँदैन ।”
गृहमन्त्री लेखकले गभर्नर नियुक्त गर्न गठित सिफारिस समितिले छलफल गरेर प्रव्रिmया अघि बढाउने बताए । उनले त्यो विषयमा दलहरूबिचमा कुनै समस्या नरहेको प्रस्ट पारे । उनले भने, “त्यो प्रव्रिmयागत रूपमा अघि बढ्छ । यसमा कुनै समस्या छैन ।”गोरखापत्र दैनिकमा खबर छ ।