छ जना फरार प्रतिवादी पक्राउ

जनता संवाददाता
२०८१ मंसिर २२ गते, शनिबार

काठमाडौँ , विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका छ जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । ओखलढुङ्गा जिल्ला अदालतबाट विभिन्न समयमा कसुरदार ठहरिएका र सजाय फैसला भएका छ जना फरार प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले प्रक्राउ गरेको हो ।जिल्ला अदालतबाट जबरजस्ती करणी र हाडनाता करणी कसुरमा दोषी ठहर भई फरार रहेका ५३ वर्षीय एक परुषलाई मोलुङ गाउँपालिका–६ चेप्टेबाट प्रहरीले पक्राउ गरेको छ ।

अदालतको २०८० चैत्र २५ गतेको फैसलाले दोषी ठहर भएका उनलाई १० वर्ष एक महिना २२ दिन कैद सजाय र तीन लाख ३० हजार जरिवाना तोकिएको थियो । उनको परिचय प्रहरीले सार्वजनिक गरेको छैन ।फैसला कार्यन्वयनलाई थप प्रभावकारी बनाउन फरार प्रतिवादी खोज तलास गर्ने क्रममा उनलाई पक्राउ गरी ओखलढुङ्गा जिल्ला अदालतमा पेश गरिएको प्रहरी निरीक्षक एवम् सूचना अधिकारी विजय कार्कीले बताए ।

पक्राउ परेका उनलाई कैद भुक्तान तथा जरिवाना समेत असुल उपरका लागि जिल्ला कारागार चलान गरिएको छ । यस्तै, गाली बेइज्यती मुद्दामा दोषी ठहर भएका मानेभन्ज्याङ गाउँपालिका–१ का कमल बहादुर बस्नेत र चोलेन्द्र बहादुर बस्नेत, अभद्र व्यवहार मुद्दामा दोषी ठहर भएका चिशंखुगढी गाउँपालिका–८ का हितमान परियार, धनकुमारी परियार र चिशंखुगढी गाउँपालिका–३ का सुवास परियारलाई पनि पक्राउ गरि फैसला कार्यान्वयनका लागि शुक्रबार अदालतमा पेश गरिएको सूचना अधिकारी कार्कीले जानकारी दिए ।

दोषी ठहर भई फरार भएका प्रतिवादीहरुको खोजी तथा पक्राउ गर्ने कार्यलाई प्रभावकारी बनाईएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।

प्रकाशित मिति : २०८१ मंसिर २२ गते, शनिबार


Scroll to Top

Janata Media