घुससहित कोहलपुर मालपोत कार्यालयका तीनजना नियन्त्रणमा

जनता संवाददाता
२०८२ जेष्ठ १० गते, शनिबार

बाँके । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीसँग घुस माग गरेको अभियोगमा मालपोत कार्यालय कोहलपुरका खरिदारसहित तीनजनालाई नियन्त्रणमा लिएको छ।

जग्गाको मोठ भिडाउने कार्यमा सहजीकरण गरिदिने भन्दै उनीहरुले घुस लिएको दाबी आयोग टोलीको छ ।

जिल्ला बाँकेस्थित मालपोत कार्यालय कोहलपुरमा कार्यरत खरिदार हरिचन्द्र पाण्डेले लेखापढी व्यवसायी (विचौलिया) मार्फत सेवाग्राहीसँग घुस माग गरिरहेको अवस्थामा नियन्त्रणमा लिएको हो।

टोलीले कोहलपुर नगरपालिका वडा नं. ११ स्थित तिवारी रेष्टुरेण्टबाट आज हरिचन्द्र पाण्डेलाई २० हजार रुपियाँ घुससहित रंगेहात पक्राउ गरेको हो । सो रकम तिवारी रेष्टुरेण्ट सञ्चालक घनश्याम तिवारीलाई राख्न दिइएको अवस्थामा फेला परेको थियो। सोही घटनामा संलग्न लेखापढी व्यवसायी (विचौलिया) शान्ती पुन र रेष्टुरेण्ट सञ्चालक तिवारी पनि पक्राउ परेका छन्।

तीनैजनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २०८२ जेष्ठ १० गते, शनिबार


Scroll to Top

Janata Media