काठमाडौं । नेकपा (एमाले) का प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण हाल स्थगित अवस्थामा रहेको जानकारी दिएका छन् । पोलिटब्युरो बैठकका निर्णयहरू सार्वजनिक गर्ने क्रममा उनले भण्डारीको सदस्यता नवीकरणबारे थप छलफल आवश्यक रहेको बताए ।
गौतमका अनुसार, भण्डारीले राष्ट्रपति पदमा रहँदा पार्टी सदस्यता त्यागेकी थिइन् । उनले भने, ‘हाल उनको सदस्यता नवीकरण पेन्डिङ अवस्थामा छ । विधानको धारा ८ र ९ अनुसार यो विषय स्थगित छ ।’
उनले पार्टीमा स्वेच्छाले राजीनामा गरेका वा पार्टीले खटाएका व्यक्तिहरू पुनः फर्कने विषयमा गम्भीर छलफल भइरहेको उल्लेख गरे । “यो विषयमा विभिन्न कोणबाट छलफल भएको छ, तर निष्कर्षमा पुगिएको छैन । आगामी बैठकहरूमा उपयुक्त निर्णयमा पुग्नेछौँ,” गौतमले थपे । उनले पार्टीले उचित समयमा भण्डारीको सदस्यता नवीकरणबारे आवश्यक निर्णय लिने स्पष्ट पारे । यो छलफलले एमालेको आन्तरिक सङ्गठन र नेतृत्व व्यवस्थापनमा महत्त्वपूर्ण प्रभाव पार्ने छ ।







