चार शीर्ष नेता नयाँ सरकार गठनको रणनीतिमा, खुमलटारदेखि भंगालसम्म नेताहरूको दौडधुप

जनता संवाददाता
२०८२ श्रावण १२ गते, सोमबार

काठमाडौँ । सत्तारूढ सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीबीचको आलोपालो सत्ता साझेदारीलाई चुनौति दिने गरी नयाँ वाम–लोकतान्त्रिक ध्रुव निर्माणको प्रयास तीव्र गतिमा अघि बढिरहेको छ ।

यो समीकरणले देउवा–ओली गठबन्धनको ‘काउन्टर मोडल’ सिर्जना गर्दै वर्तमान सरकारको असफलता उजागर गर्ने र आवश्यक परे सडक आन्दोलनमा उत्रने रणनीति तयार गरेको स्रोतको दाबी छ ।

तर, रणनीतिक रूपमा यो गठबन्धनको मूल उद्देश्य देउवा–ओलीबीचको सातबुँदे सहमतिको जगमा बनेको वर्तमान सत्ता समीकरणलाई विघटन गराउँदै वैकल्पिक सरकार गठन गर्नु हो । यो प्रक्रिया धेरै चरणमा अगाडि बढिरहेको छ । जहाँ प्रमुख नेताहरूबीच बहुपक्षीय गोप्य वार्ताहरू भइरहेका छन् ।

स्रोतका अनुसार कांग्रेस संस्थापन इतरपक्षका प्रभावशाली नेता डा।शेखर कोइरालालाई भावी प्रधानमन्त्रीको रूपमा अघि सार्ने रणनीति निर्माण भइरहेको छ ।

यसका लागि पूर्वराष्ट्रपति विद्या भण्डारी, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा ९एकीकृत समाजवादी०का अध्यक्ष माधव कुमार नेपाल लगायतका नेताहरूको सहकार्यमा नयाँ राजनीतिक ध्रुव तयार पारिने तयारी छ । शेखरले हालै दुई साता पहिले विद्या भण्डारी र प्रचण्डसँग छुट्टाछुट्टै एक–एक घण्टा लामो गोप्य भेटवार्ता गरेका छन् ।

ती छलफलहरूमा स्वतन्त्र सांसद अमरेश कुमार सिंहसमेत सहभागी भएको बताइएको छ । भेटमा शेखरले वर्तमान सरकारको विकल्पबारे गम्भीर छलफल गरेका थिए । दुई वर्षअघि कोशी प्रदेशमा शेखर पक्षकै अग्रसरतामा बनेको गठबन्धन सरकार, जसले केदार कार्कीलाई मुख्यमन्त्री बनायो । अहिले संघीय तहमा दोहोर्याउने प्रयास भइरहेको छ । त्यही शैलीमा फरक राजनीतिक ध्रुव निर्माण गर्ने तयारी छ ।

नयाँ समीकरणमा पछिल्लो समय सरकारबाट समर्थन फिर्ता गरेका जनता समाजवादी पार्टी ९जसपा०, राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लगायत मधेश केन्द्रित दलहरूको समेत सहभागिता सुनिश्चित गर्ने प्रयास जारी छ । यसले समीकरणलाई बहुपक्षीय तथा समावेशी बनाउने लक्ष्य राखेको छ ।

पूर्वराष्ट्रपति विद्या भण्डारीले सक्रिय राजनीतिमा पुनः फर्किने घोषणा गरेपछि एमाले सचिवालयले उनलाई निषेध गर्ने निर्णय लिएको छ । एमालेको यस्तो कदमपछि भण्डारीले नयाँ राजनीतिक मोर्चाको सहयात्रा तय गरेकी हुन् ।

उनी शेखर–प्रचण्ड ध्रुवको सशक्त सल्लाहकार तथा राजनीतिक सञ्जालकर्ताको भूमिकामा देखिएकी छन् । सत्ता साझेदार दलहरूकै आन्तरिक संरचनामा असन्तुष्टि चुलिँदै गएको छ । कांग्रेसभित्र शेखर समूह देउवाप्रति असन्तुष्ट देखिन्छ भने एमालेभित्र पनि ओली नेतृत्वको निर्णयशैली र सत्ता साझेदारीमाथि प्रश्न उठ्ने क्रम बढेको छ ।

कतिपय नेताहरूले प्रधानमन्त्री ओलीले चाँडै विश्वासको मत लिनुपर्ने अवस्था आउन सक्ने संकेत गरेका छन् । हालै संसदमा माओवादी अध्यक्ष प्रचण्डले सरकारमाथि आक्रोश पोख्दै प्रधानमन्त्री ओलीमाथि गम्भीर भ्रष्टाचारका आरोप लगाएका थिए ।

यस्तै, देउवा–ओली सहमतिको आधारमा बनेको सरकारले एक वर्ष पुरा गरिसकेको छ भने अबको अर्को वर्ष देउवालाई प्रधानमन्त्री बनाउने भनिएको छ । तर, अहिलेको दौडले त्यो सहमति कार्यान्वयनमा नजाने सम्भावना बलियो बन्दैछ ।

वैकल्पिक सत्ता समीकरणका लागि नेताहरूबीच बहुपक्षीय छलफल तीव्र गतिमा चलिरहेको छ । स्रोतका अनुसार कुनै पनि नेता हालसम्म यो समीकरणबाट पछि हट्ने मनस्थितिमा छैनन् ।

बरु, सबैले एकअर्कालाई विश्वासमा राख्दै राजनीतिक संरचना परिवर्तन गर्ने अन्तिम लक्ष्यतर्फ अगाडि बढिरहेका छन् । वर्तमान सत्ता गठबन्धनको विकल्पको रूपमा तयार भइरहेको नयाँ वाम–लोकतान्त्रिक समीकरणले निकट भविष्यमा नेपाली राजनीतिमा ठूला फेरबदल ल्याउने संकेत देखिएको छ ।

देउवा–ओली गठबन्धनमाथि गम्भीर दबाब सिर्जना गर्ने यो समीकरण सफल भएमा नेपालको सत्ता सन्तुलनमा व्यापक परिवर्तन हुनसक्ने सम्भावना छ ।

प्रकाशित मिति : २०८२ श्रावण १२ गते, सोमबार


Scroll to Top

Janata Media