एनपीएलमा ‘बेटिङ एप’ को प्रचार: क्यानलाई चेतावनी, दुई एजेन्सी ३ महिना प्रतिबन्धित

जनता संवाददाता
२०८२ भाद्र २ गते, सोमबार

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिता दौरान सट्टेबाजी (बेटिङ) गराउने साइटहरूको विज्ञापन गरेको भन्दै विज्ञापन बोर्डले नेपाल क्रिकेट संघ (क्यान) लाई सचेत गराएको छ भने दुईवटा एजेन्सीलाई जरिवानासहित तीन महिना प्रतिबन्ध लगाएको छ।

गत मंसिर-पुसमा आयोजित एनपीएलका खेलहरूमा खेलाडीको जर्सी, मैदान र स्टार स्पोर्ट्सबाट भएको प्रत्यक्ष प्रसारणमा 1XBAT, wolf-777, Dafa news जस्ता सट्टेबाजी साइटहरूको विज्ञापन गरिएको भन्दै परेको उजुरीमाथि छानबिन गर्दै बोर्डले यस्तो कारबाही गरेको हो।

बोर्डले पटक-पटक पत्राचार गर्दा पनि कार्य व्यस्तताको कारण देखाउँदै जवाफ नदिएको भन्दै क्यानको जवाफ चित्तबुझ्दो नभएको ठहर गरेको छ। बोर्डले विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ अनुसार भविष्यमा यस्ता निर्देशनको बेवास्ता गरेमा विज्ञापन गर्न-गराउनबाटै रोक लगाउने गरी सचेत गराएको छ।

यसैगरी, उक्त विज्ञापन कारोबारमा संलग्न ब्राण्ड डिजिटल लजिक प्रा.लि. र टि.सि.एम. स्पोर्टस एण्ड मार्केटिङ प्रा.लिलाई भने कारबाही गरिएको छ।

बोर्डमा सूचीकृत नभई अवैध विज्ञापन कारोबार गरेको भन्दै दुवै एजेन्सीलाई १०/१० हजार रुपैयाँ जरिवाना र तीन महिनासम्म कुनै पनि प्रकारको विज्ञापन कारोबार गर्न नपाउने गरी प्रतिबन्ध लगाइएको छ।

प्रतिबन्धको अवधिमा यी कम्पनीहरू बोर्डमा सूचीकृत समेत हुन पाउने छैनन्।

बोर्डले एक सूचना जारी गर्दै आगामी तीन महिना यी दुई कम्पनीसँग कुनै पनि किसिमको विज्ञापन कारोबार नगर्न-नगराउन सम्पूर्ण विज्ञापनदाता तथा सञ्चारमाध्यमलाई अनुरोध गरेको छ।

प्रकाशित मिति : २०८२ भाद्र २ गते, सोमबार


Scroll to Top

Janata Media