जडीबुटीको नाममा भेप तस्करी ! वन कार्यालयको संलग्नतासहित १२ करोडको पर्दाफास

जनता संवाददाता
२०८२ भाद्र १० गते, मंगलवार

काठमाडौँ । केही दिनअघि हुम्लाको हिल्सा नाकाबाट एउटा ट्रक छुट्छ । ट्रकभित्र सेतो चिनी नामक जडीबुटी छ भनेर डिभिजन वन कार्यालय, सिमकोट हुम्लाले सिल लगाइदिन्छ । सरकारी कार्यालयकै सिल भएपछि हत्पत्ति राजस्व अनुसन्धान वा अन्य निकायहरुले सडकमा सहजै ‘पास’ गरिदिन्छन् । हुम्लाबाट छुटेर गएको ‘ना अ प आ ८३’ नम्बर प्लेट रहेको उक्त ट्रकमा शंकास्पद सामान रहेको भन्ने सूचना पुग्छ ।

यसै भदौको ७ गते दैलेखको आठबीसकोट नगरपालिका वडा नं ६ मा पर्ने खिड्कीजिउला भन्ने ठाउँमा राति सवा ११ बजे ट्रकलाई नियन्त्रणमा लिएर कोहलपुरमा रहेको राजस्व अनुसन्धान कार्यालयमा राखियो । बाँकेस्थित जिल्ला प्रशासन कार्यालय, वन कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी र उद्योग वाणिज्य संघका प्रतिनिधिको रोहबरमा ट्रकको टाँचा तोडियो ।

खोलेर हेर्दा त्यहाँ त जडिबुटीभित्र ठुलो मात्रामा विद्युतीय चुरोट (भेप) भेटिन थाले । भेप गन्दा ३९ हजार ९०० पुगेको र यसको न्यूनतम् मूल्यांकन गर्दा १२ करोड रुपैयाँ बराबरको हुने राजस्व अनुसन्धान कार्यालय कोहलपुरका प्रमुख उमेश रिमाल बताए ।

‘बजारमा विभिन्न मूल्यका भेपहरु पाइन्छन्,’ रिमालले भने, ‘यो ठ्याक्कै कुन गुणस्तर र मूल्यको हो भन्ने यकिन भएको छैन । न्यूनतम प्रतिभेप ३ हजारका दरले हिसाब गर्दा १२ करोडको हुन्छ । कुनै भेप ३० हजार सम्म पनि गर्ने गरेको भेटिन्छ ।’

अहिलेसम्म उक्त सामानको धनी पत्ता लागि नसकेको उनको भनाई छ । नेपालगन्ज हुँदै भारत तस्करी गर्न लागिएको हुन सक्ने अनुसन्धान अधिकारीहरुको प्रारम्भिक अनुमान छ ।

‘अहिले चालकसहित ३ जनालाई नियन्त्रणमा लिएको छौँ, धेरै कुरा खुलिसकेको छैन । अनुसन्धानकै क्रममा छौँ । यो सामान कसको हो भन्ने यकिन भएको छैन ।’ रिमालले भने । नियन्त्रणमा लिइएका तीनै जना ट्रकमै सवार थिए ।

भेप नेपाल र भारत दुवै देशमा प्रतिबन्धित छ । यही मौका छोपी तस्करहरुले नयाँनयाँ नाका प्रयोग गरी चीनबाट भेप ल्याएर भारत र नेपालका बजारमा अवैध रुपमा पठाइरहेको पाइन्छ । यस ट्रकमा वनको टाँचा लागेकाले वन कार्यालयका कर्मचारीदेखि अन्य शक्तिशाली व्यक्तिहरुको पनि संलग्नता हुन सक्ने आशंका गरिएको छ ।

कैलाश ईश्वर जडीबुटी खरिदबिक्री केन्द्रका सञ्चालक कुन्साङ दोर्जी लामाका नाममा ५ हजार किलो सेतक चिनी उल्लेख गरी वन कार्यालयले जाँचपास गरेको भेटिएको छ । प्रतिकिलो २५ रुपैयाँ मूल्य राखेर १ लाख २५ हजार रुपैयाँ राजस्वको रसिद काटिएको छ । नेपालगन्जसम्म पुग्ने गरी ट्रकलाई इजाजत दिइएको छ ।

प्राप्त विवरणअनुसार, कैलाश ईश्वर जडीबुटी खरिद बिक्री संस्थाले भदौ ३ मा जाँचपासका लागि वनमा निवेदन दिएका थिए । त्यसको दुई दिनमा वन कार्यालयका निमित्त डिभिजनल प्रमुख लोकजंग शाहीले जाँचपास गरी चलानी अनुमति दिएका थिए ।

आफुले छुट पुर्जी दिएको र आफ्ना कर्मचारीहरुले जडिबुटी सलि गरेको तर सम्बन्धित व्यक्तिले राति आफैं भेप सिल गरेको लोकजंग शाहीले बताए । पक्राउ परेका व्यक्तिहरु, फर्म सञ्चालक र अन्य संलग्न व्यक्तिहरुको थप विवरण संकलन भइरहेको छ ।

यसरी कुनै एक कार्यालयकै अनुमतिमा अवैध भेप ओसारपोसार गर्नुमा डिभिजन वन कार्यालय, हुम्लाका निमित्त डिभिजनल प्रमुख लोकजंग शाहीको भूमिका शंकास्पद देखिएको छ । यसको निष्पक्ष छानविन हुन आवश्यक छ ।

प्रकाशित मिति : २०८२ भाद्र १० गते, मंगलवार


Scroll to Top

Janata Media