कर्णाली राजमार्ग अवरुद्ध हुँदा स्याउ बोकेको २० ट्रक अलपत्र

जनता संवाददाता
२०८२ भाद्र १७ गते, मंगलवार

सुर्खेत । अविरल वर्षापछि आएको पहिराले कर्णाली राजमार्ग तीन दिनदेखि पूर्णरूपमा अवरुद्ध भएको छ । भदौ १४ गते बिहान ९ः४५ बजेदेखि कर्णाली राजमार्ग अन्तर्गतको कालिकोट शुभकालिका गाउँपालिका–१ गगनेखोलामा भएको अवरुद्ध अझै खुलेको छैन् । तीनदेखि सडक पूर्णरूपमा अवरुद्ध हुँदा जुम्लाबाट स्याउ बोकेर गएका ट्रक बाटोमा अलपत्र परेका छन्।

गगने खोलामा ठुला ढुङ्गा आएको र ब्रेकरले पनि ढुङ्गा फुटाउन सम्भव नभएपछि ब्लास्टिङ गर्ने तयारी भइरहेको छ । सडक अवरुद्ध भएपछि जुम्लाबाट स्याउ बोकेर गएका २० वटा ट्रक बाटोमै रोकिएको छ । तीनदेखि ट्रक बाटोमै रोकिएपछि करोडौँ रुपियाँ पर्ने स्याउ कुहिने जोखिम बढेको छ।

विगतको तुलनामा यस वर्ष ढिला गुल्कोजको मात्र भरिएको र पाकेको स्याउ निर्यात भएकाले निर्वाध रूपमा गन्तव्य पुग्न नसकेमा स्याउ कुहिने जोखिम बढ्ने कृषि विज्ञहरू बताउँछन् । सीमावर्ती क्षेत्र नाग्म प्रहरी चौकीको रेकर्डअनुसार भदौ १४ गतेदेखि १६ गते बिहानसम्म २० वटा स्याउ ट्रक जुम्लाबाट गएका छन् ।

नाग्म प्रहरी चौकीका असई यम शर्माका अनुसार भदौ १४ गते ८ वटा, भदौ १५ गते ११ वटा ट्रक र भदौ १६ गते अर्थात १ वटा गरी जम्मा २० वटा ट्रकले स्याउ बोकेर गएको असई शर्माले जानकारी दिए । भदौ १४ देखि १६ गतेसम्म स्याउ बोकेका २० ट्रक रोकिएका छन्। २० वटा ट्रक भण्डै सात सय ९ क्विन्टल स्याउ निर्यात भएको छ ।

न्यूनतम १२ क्विन्टलदेखि अधिकतम् ४० क्विन्टलसम्म स्याउ व्यापारीले बिक्रीका लागि लिएको पाइएको छ । लगातार दुई दिनदेखि बाटोमै स्याउ थन्किएपछि कुहिने जोखिम बढेको व्यापारी हरिसिंह नेपालीले बताए । उनले भने, “स्याउ निर्यातकै सिजनमा वर्षा हुने, बाढी पहिरो आउने र बाटो अवरुद्ध हुने समस्या छ ।

करोडौंका स्याउ बोकेका गाडी अलपत्र पर्ने गरेका छन् । तर अवरुद्ध खुलाउने तयारी सुस्त छ । ठुला ढुङ्गा खसेका ब्रेकरले फुटाउन सकेको छैन । अब ब्लास्टिङ गर्ने भन्ने छ । कहिले सडक खुल्ने हो पत्तो छैन् । त्यस्तै अर्का स्याउ व्यापारी कालीबहादुर रोकायाले सडक अवरुद्ध भएपछि जुम्लाका किसान र व्यापारीले गत वर्षजस्तै सास्ति पाएको बताए ।

जुम्लाको आर्थिक समृद्धि र किसानको जीविकोपार्जनको मुख्य स्रोत स्याउ निर्यात गरेर आउने आम्दानी हो । स्याउ निर्यातको समयमा दिनसम्म सडक अवरुद्ध भएको र खुल्ने समय निश्चित नहुँदा बाटोमा अलपत्र परेको मात्र नभई बोटकै स्याउ पनि कुहिने अवस्था आएको छ । प्रहरीको रेकर्ड अनुसार २० ट्रक अलपत्र परेको छ ।

प्याकिङ गरी निर्यात गर्ने तयारीमा रहेका गाडी र सङ्कलन गरेर प्याकिङ गर्दै गरेको स्याउ पनि जिल्लामै थन्किएको छ । यो समस्याले किसानको करोडौं मूल्यको स्याउ कुहिने जोखिम बढेको छ । एउटा ट्रकमा कम्तिमा पाँच सय स्याउका कार्टुन लोड गरिएका छन् । तीन दिनदेखि सडक पूर्णरूपमा अवरुद्ध भएपछि करोडौँको स्याउ अलपत्र अवस्थामा छ ।

सडक अवरुद्ध हुँदा ठुला मालबाहक सवारीसँगै अन्य यात्रुबाहक सवारी पनि सडकमै थन्किएका छन् । समयमै नेपालगञ्ज, सुर्खेत गाडी पुर्याउन नसके करोडौँको क्षति जुम्लाले बेहोर्नुपर्ने जुम्लाका देउराम नेपालीले बताए । उनले भने, “केही कमाइ होला, नजिकिदै गरेको दशैँतिहार मनाउने रकमको जोहो होला भनेर स्याउ ल्याइयो, बाटो अवरुद्धले उल्टै समस्या पर्नेभयो ।”

भौगोलिक रूपमा भिरालो क्षेत्र र स्थानीय तहले जथाभावी निर्माण गरेको सडकका कारणले वर्षा हुने वित्तिकै कर्णाली राजमार्गमा पहिरोको उच्च जोखिम रहेको छ । गत वर्ष पनि भदौ १३ देखि १६ गतेसम्म सडक अवरुद्ध भएपछि ६३ वटा स्याउ बोकेका ट्रक अलपत्र परेको थियो ।