काठमाडौँ । हुम्लाको विकासका लागि युवा नेतृत्व आवश्यक हुनुपर्ने भन्दै हुम्लाका युवाहरु एकताबद्ध भएका छन् । जिल्लाका सातओटै पालिकाका ५० जनाभन्दा बढी युवाहरु काठमाडौँको बौद्ध, सिमलटारमा रहेको नाम्ख्युङ हुम्ला समाजको कार्यालयमा पूर्व सूचना अनुरुप भेला भई एकताबद्ध भएको सन्देश दिएका छन् ।
देशमा घटेका विकसित राजनितिक घटनाक्रमलाई मध्यनजर गर्दै भ्रष्ट्राचार, बेथिति र अनियमिततालाई रोक्न र विधिको शासन लागु गर्न हुम्लामा पनि युवाको नेतृत्व आवश्यक रहेको भन्दै हुम्ली युवाहरु एकताबद्ध हुनुपर्ने अवस्था सिर्जना भएको उनीहरुको ठम्याई छ ।
काठमाडौँमा उपलब्ध हुम्ली ५० जनाभन्दा बढीको उपस्थिति रहेको उक्त भेलाले श्रृङ्खलाबद्ध रुपमा हुम्लालाई विधिको शासनमा ल्याउनका लागि प्रत्येक स्थानीय तहमा गई संगठन निर्माण गर्ने पनि उनीहरुको भनाई छ ।
यो सँगै आज बसेको भेलाले हुम्ला काठमाडौँ सम्पर्क समिति समेत चयन गरेको छ । सम्पर्क समितिमा गोविन्द बहादुर सिंह, राम बहादुर शाही, दावा लामा, नन्दकृष्न थापा, पेमा छोईग्याल लामा, छुयुङ लामा र कोन्जोक रिन्जिन रहेका छन् । सम्पर्क समिति गठन भएको र अब विभिन्न तहका संगठन निर्माण गर्ने उनीहरुको तयारी छ ।







