काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले यात्रुलाई बढी भाडा लिएको पाइएमा पैसा फिर्ता गरिने बताएको छ ।काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार बसको टिकट काटेर सीट नपाएको, एउटै सीटमा दुई, तीन जना बढीको टिकट काटिएको, बढी भाडा लिइएको सम्बन्धमा गुनासो आएका छन् ।
उनका अनुसार सोमबार ३५ वटा मौखिम उजुरी आएका थिए । मङ्गलबार भने सडकको अवस्था सामान्य रहेको तथा त्यति चाप नरहेको उनको भनाइ छ । यी समस्याको यात्रु सहायता कक्षले समन्वय गरेर समाधान पनि गरिरहेको उनको भनाइ छ ।
प्रवक्ता सुवेदीले भने, “मौखिक गुनासोमा विशेषगरी सीट नपाएको, एउटै सीटमा दुई, तीन जनाको टिकट काटेको, भाडा बढी लिएको भन्ने आएका थिए । यसलाई यात्रु सहायता कक्षबाट समाधान गरेर पठाइदिएका छौं ।”
उनले लामो दुरीको यात्रामा अनिवार्य दुई जना चालक हुनुपर्ने, बसपार्कबाट यान्त्रिक परीक्षण भएको हुनुपर्ने लगायतका विषयमा प्रहरीले अनुगमन गरिरहेको बताए ।
दुई समूह परिचालन
उनका अनुसार काठमाडौँ उपत्यकाभित्र समूह ‘क’ मा २३ वटा र समूह ‘ख’ मा २४ वटा प्रहरी युनिट परिचालन गरिएको छ । रात्रीकालीन समयमा मादक पदार्थ सेवन गरे, नगरेको तथा गलत क्रियाकलाप न्यूनीकरण गर्नका लागि पाँचवटा समूह विभाजन गरेर विभिन्न ठाउँमा चेकजाँच तथा अनुगमनको कार्य भएको उनको भनाइ छ ।
उनले भने, “राजधानीमा नियमितरुपमा समूह ‘क’ मा २३ वटा र समूह ‘ख’ मा २४ वटा युनिट भित्रि एरियामा खटाएका छौं । रात्रिकालीन समयमा मादक पदार्थ सेवन गरेर सवारी चलाउने, गलत क्रियाकलाप न्यूनीकरण गर्ने हिसाबले हामीले पाँचवटा समूह विभाजन गरेर विभिन्न ठाउँमा चेकजाँच गर्ने, अनुगमन गर्ने गरेका छौं ।”
उनले कुनै समस्या वा गुनासो उजुरी गर्न परेमा १०३ वा ९८५१२९५१०० मा सम्पर्क गर्न सकिने पनि बताए ।
सादा पोशाकमा प्रहरी
यस्तै, नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले प्रहरी प्रधान कार्यालय मातहतका सात प्रदेशका कार्यालयमा चाडपर्व लक्षित सुरक्षा योजना अन्तर्गत शान्ति, सुरक्षा कायम गर्ने उद्देश्यअनुरुप कार्य भएको जानकारी दिए । जेनजी आन्दोलन पश्चात् ठुलो सङ्ख्यामा अपराधी जेलबाट फरार रहेको भन्दै उनले सतर्कता अप्नाउन समेत आग्रह गरे ।
प्रवक्ता घिमिरेले भने, “फरार अपराधीहरु बाहिर निस्केका छन्, ती व्यक्तिले सम्भाव्य घटना घटाउन सक्छन् । वित्तिय क्षेत्रमा चोरी, डकैती हुन सक्छ । कतै आफ्ना बद्लाव भावनाले प्रतिद्वन्द्वीलाई त्यस किसिमको घटना घटाउन सक्छन् ।” यी सबै कुरलाई मध्यनजर गरेर सुरक्षा योजना तयार पारिएको उनको भनाइ छ ।
उनले भने, “यी यावत् कुराहरुलाई मध्यनजर र विश्लेषण गरेर प्रहरी युनिटसम्म आफ्नो सुरक्षा योजना तयार पार्ने र नागरिकसँग मिलेर चाडपर्वलक्षित समाधान गर्न आवश्यक तयारी अप्नाउने भनेर हामीले त्यो अनुसारको निर्देशन दिएका छौं ।”
उनले बसपार्क वा कुनै क्षेत्रमा भीडभाड नहोस् भनेर अनलाइन टिकटको व्यवस्था मिलाइएको बताए । कुनै पनि गलत क्रियाकलाप हुन नदिन सादा पोशाकमा प्रहरी परिचालन गरिएको उनको भनाइ छ ।
उनले भने, “पकेटमारी नहोस् भनेर अहिले अनलाइन टिकेटिङको व्यवस्था मिलाइएको छ । कुनै गलत क्रियाकलाप नहोस् भनेर हामीले सादा पोशाकमा प्रहरीहरु ठुलो परिमाणमा परिचालन गरेका छौं ।”







