बालेन र सुदन गुरुङविरुद्ध एमालेले दियो उजुरी

जनता संवाददाता
२०८२ आश्विन २२ गते, बुधबार

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुले पनि काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाह र ‘हामी नेपाल’ का संस्थापक सुदन गुरुङविरुद्ध प्रहरीपरिसर काठमाडौँमा जाहेरी दिएको छ ।

अनेरास्ववियुका पूर्वअध्यक्ष समिक बडालको नेतृत्वमा पुगेका विद्यार्थी नेताहरूले महानगर प्रमुख बालेन र सुदनविरुद्ध आन्दोलन हिंसात्मक बनाउन उक्साएको, राष्ट्रिय सम्पदा र अन्य भौतिक संरचना तोडफोड र आगजनी गरी ध्वस्त बनाउन उक्साएको र मातृभूमिप्रति विदेशी जासुसी गरेको ठहरसहित किटानी जाहेरी दिएका छन् ।

जाहेरीबारे जानकारी दिँदै बडालले भने, “आन्दोलनका क्रममा राज्यमाथि प्रश्न उठ्दा आन्दोलनलाई उत्तेजित बनाउने, आगजनी, तोडफोड र सुरक्षाकर्मी हत्यामा संलग्न व्यक्तिहरू कुनै पनि हालतमा उम्किने अवस्था हुनुहुँदैन भन्ने हामीले प्रमाणसहितको जाहेरीमा उल्लेख गरेका छौँ ।”

बडालले प्रहरीले जाहेरी जाँचबुझ आयोगको क्षेत्राधिकारभित्र पर्ने तर्क गरेको र सरकारी वकिलसँग परामर्श गरी २४ घण्टाभित्र जवाफ दिने प्रतिबद्धता व्यक्त गरेको पनि बताए ।

परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जाहेरी थप स्पष्ट हुनुपर्ने देखिएकाले दर्ता हुन बाँकी रहेको बताउनुभयो । परिसर स्रोतका अनुसार सो निवेदनको फोटोकपी लिएर २४ घण्टापछि जवाफ दिइने भएको छ ।

प्रकाशित मिति : २०८२ आश्विन २२ गते, बुधबार


Scroll to Top

Janata Media