काठमाडौँ । जेन-जी आन्दोलनका प्रतिनिधिहरूले सरकारले सिफारिस गरेका चार जना मन्त्री नियुक्तिको विरोध गरेका छन्।
शनिबार राष्ट्रपति कार्यालय शीतलनिवासमा सरकारसँग भएको छलफलमा उनीहरूले उक्त सिफारिसप्रति गम्भीर आपत्ति जनाउँदै नियुक्ति प्रक्रिया रोक्न माग गरेका हुन्।
आन्दोलनका एक प्रतिनिधि प्रवेश दाहालले छलफलमा भएको कुराकानीबारे जानकारी दिँदै मन्त्री सिफारिसको प्रक्रिया र छानिएका व्यक्तिहरूको पृष्ठभूमिमाथि प्रश्न उठाएको बताए।
‘हिजो शीतलनिवासमा भएको छलफलमा मन्त्रीहरूको विरोध भयो। ती चार जना मन्त्री कसले र किन सिफारिस गर्यो भन्ने हाम्रो मुख्य प्रश्न थियो,’ दाहालले भने।
उनका अनुसार, यी मन्त्रीहरूको सिफारिसमा जेन-जीको भूमिका छैन र सिफारिस भएका व्यक्तिहरूको पृष्ठभूमिबारे आफूहरू अनभिज्ञ रहेको सुनाए।
‘यो सिफारिस हामीले गरेको होइन। को, कहाँका मान्छे हुन्, उनीहरूको पृष्ठभूमि के हो, केही थाहा छैन,’ उनले भने, ‘यस्ता मन्त्रीमा हाम्रो समर्थन रहँदैन र जहाँसम्म लाग्छ यो नियुक्ति रोकिन्छ।’
राष्ट्रपतिले जेन-जी प्रतिनिधि र सरकारबीच छलफलका लागि बैठक बोलाए पनि अस्वस्थताका कारण उनी उपस्थित हुन सकेका थिएनन्। बैठकमा सरकारका कामकारबाही र मन्त्री नियुक्ति प्रक्रियाबारे जेन-जी प्रतिनिधिहरूले प्रश्न उठाएका थिए।
दाहालले जनताको चित्त बुझ्ने र समाजमा विवादमा नपरेका व्यक्तिहरूलाई मात्र मन्त्री बनाउनुपर्नेमा जोड दिए। उनले सम्पूर्ण जेन-जीहरूलाई विभाजित नभई आन्दोलनको एजेन्डामा एक भएर लाग्न र आम नेपालीलाई पनि यसबारे खबरदारी गर्न आह्वान गरेका छन्।
प्रधानमन्त्री निकट स्रोतका अनुसार गणपतिलाल श्रेष्ठ, बब्लु गुप्ता, रामजी राम र टासी ल्हाजोमलाई मन्त्रीमा सिफारिस गरिएको छ। उनीहरु जेन-जीहरूको प्रतिनिधित्व गरेर मन्त्री बन्ने चर्चा छ।
श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्ययन, गुप्ता युवा तथा खेलकुद मन्त्रालय, रामलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र टासीलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिने तयारी गरिएको हो।







