बोतलमा पेट्रोल बिक्री गर्दाको परिणामः खरानी भयो पसल

जनता संवाददाता
२०८२ कार्तिक ५ गते, बुधबार

कल्याणपुर । सप्तरीमा बोतलमा भरेर पेट्रोल बेचेको जताततै देखिन्छ । सहरदेखि गाउँसम्मको पसल र सडक किनारमा बोतलमा पेट्रोल भरेर बेच्ने काम भइरहेको हुन्छ।

राजविराज नगरपालिका– ७ घर भएकी ३९ वर्षीया मञ्जु राउतले दिपावलीको पूर्वसन्ध्यामा आइतबार साँझ पसलमा दियो बाल्न लागे । अचानक बिक्रीका लागि बोतलमा राखिएको पेट्रोल खनिएर आगलागी हुँदा क्षणभरमै उनको पसल खरानी बन्यो ।

बैंकबाट ऋण लिएर कटघरामा पसल सञ्चालन गर्दै आएकी उनकोे किराना पसल बोतलमा राखेर बेचिने पेट्रोल कै कारण जलेर खरानी भएको हो ।

आगो निभाउने प्रयास गर्दा पसल सञ्चालक मञ्जु घाइते भए । उनको खुट्टाको केही भाग जलेको छ ।

आगलागीबाट कटघरा, किराना समाग्री तथा बिक्रीका लागि प्लाष्टिक भरेर राखिएको पेट्रोलका बोतल जलेर नष्ट हुँदा लाखौं रुपियाँ बराबरको क्षति भएको मञ्जुले बताईन् । आगलागीबाट मञ्जुको पसलसँगै छिमेकी बलराम राउतको पसलमा समेत क्षति भएको छ ।

यस्तै सोमबार राति सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१४ स्थित एक किराना पसलमा पेट्रोल हालेर कुपी बाल्दा आगलागी हुँदा तीन लाख ७८ हजारको क्षति भएको छ ।

तिलाठी कोइलाडी गाउँपालिका– ४ घर भएका इन्द्र मुखियाको किराना पसलमा आगलागी भएको प्रहरीले जनाएको छ ।

अति प्रज्वलनशील पदार्थ पेट्रोल कै कारण पसल जलेर खरानी भएको स्थानीयको भनाइ छ । नेपाल आयल निगमबाट स्वीकृति लिएर खोलिएका पम्पले मात्र बिक्री गर्न पाउने व्यवस्था भए पनि जिल्लाको दर्जनौ स्थानमा पान, किराना र मोटरसाइकल ग्यारेज लगायतका पसलमा समेत बोतलमा राखेर पेट्रोल बिक्री भइरहेको हुन्छ ।

नियम विपरितको यस्ता कार्यलाई रोक्नुपर्ने स्थानीयको माग छ ।

प्रकाशित मिति : २०८२ कार्तिक ५ गते, बुधबार


Scroll to Top

Janata Media