विदेशी दाजुभाइलाई नेपाली दिदीबहिनीले लगाए भाइटीका

जनता संवाददाता
२०८२ कार्तिक ६ गते, बिहीबार

लेखनाथ । दिदीबहिनीले दाजुभाइको सुस्वास्थ्य, आरोग्य र प्रगतिको कामना गर्दै लगाउने भाइटीका पोखरामा पर्यटकले समेत लगाएका छन्। होटल सङ्घ पोखरा नेपालले तिहारको अवसरमा बिहीबार आयोजना गरेको १८ औं भाइटिका महोत्सवमा एक सयभन्दा बढी पर्यटकले नेपाली दिदीबहिनीसँग भाइटीका लगाएका हुन्।

यसपालिको भाइटीका महोत्सवमा १५ देशका सयभन्दा बढी पर्यटकले भाइटीका लगाएको आयोजक सङ्घका अध्यक्ष लक्ष्मण सुवेदीले बताए।बेलायत, अमेरिका, चीन, भारत, जर्मनी, इजरायल, स्वीडेन, अष्ट्रेलिया, स्पेन, न्युजल्यान्ड, नेदरल्यान्ड लगायतका देशका नागरिकलाई रेन्बो चिल्ड्रन होमका छात्राहरुले पर्यटकलाई टीका लगाइदिएका थिए।

भाइटीका लगाउने पर्यटकहरुलाई ढाका टोपी र पछ्यौरा उपहार दिइएको थियो।पर्यटन प्रवद्र्धनसँगै संस्कृतिको संरक्षण गर्न महोत्सव गरिएको अध्यक्ष सुवेदीको भनाइ छ।भाइटीका लगाएका पर्यटकले देउसीभैलोसमेत खेलेका थिए।

भाइटीका र देउसीभैलोमा सहभागितापछि अष्ट्रेलियाबाट आउनुभएकी एनीले नेपालीको संस्कृति र सत्कारबाट प्रभावित भएको उल्लेख गरे।महोत्सवमा तिहारको महत्वसँगै यमपञ्चकका पाँच दिनका विशेषताबारे प्रकाश पारिएको कार्यक्रम महोत्सव संयोजक गणेशराज पहारीले उल्लेख गरे।

प्रकाशित मिति : २०८२ कार्तिक ६ गते, बिहीबार


Scroll to Top

Janata Media