काठमाडौँ । काठमाडौँको गोकर्णेश्वर नगरपालिका–६, जोरपाटीस्थित नेपाल अपाङ्ग सङ्घ खगेन्द्र नवजीवन केन्द्रको बेथिति, अनियमितता, सञ्चालन विधि र सम्भावित भ्रष्टाचारबारे अध्ययन गर्न उच्चस्तरीय छानबिन एवं अनुगमन समिति गठन गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँमा सम्पन्न सर्वपक्षीय छलफलपछि सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुङ्गानाको संयोजकत्वमा सात सदस्यीय छानबिन समिति गठन भएको हो । काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले खगेन्द्र नवजीवन केन्द्रमा आश्रित नागरिक सङ्घर्ष समिति गठन गरेर आन्दोलित भएको र केन्द्रबारे उठेका प्रश्न, सञ्चालन विधिसहित सम्पूर्ण पक्षको अध्ययन र अनुगमन गरी प्रतिवेदन तयार गर्ने गरी समिति गठन गरिएको बताए ।
उनले भने, “केन्द्रका पदाधिकारी, सङ्घर्षरत पक्ष र सरोकारवाला पक्षलाई बोलाएँ, छलफल गराएँ, नेपाल अपाङ्ग सङ्घकै सन्दर्भमा पनि केही सवाल छन्, उच्चस्तरीय समितिले यी सबै पक्षको अध्ययन गर्ने छ ।”
सहायक प्रमुख जिल्ला अधिकारी ढुङ्गानाको संयोजकत्वमा गठित समितिमा काठमाडौँ जिल्ला प्रहरी परिसरबाट एक जना, गोकर्णेश्वर नगरपालिकाका तर्फबाट एक जना, नेपाल अपाङ्ग सङ्घ खगेन्द्र नवजीवन केन्द्रका तर्फबाट एक जना सदस्य रहेका छन् । त्यसै गरी बेथिति एवं भ्रष्टाचारविरुद्धको अभियानका तर्फबाट एक जना, अपाङ्ग सङ्घ सङ्घर्ष समितिका तर्फबाट एक जना र खगेन्द्र नवजीवन केन्द्रको आवासीय विद्यार्थीका तर्फबाट एक जना सदस्य रहेका छन् ।
अपाङ्गता अधिकारकर्मी एवं अधिवक्ता विदुरकुमार थापाले छानबिन समितिले अहिलेसम्म बनेका छानबिन र अनुगमन समितिका प्रतिवेदनको पनि अध्ययन गर्ने बताए । उनले भने, “सबै विषयलाई समेटेर अध्ययनको निष्कर्ष प्रतिवेदनमा प्रस्तुत गरिने छ । सङ्घलाई सुधार्न नयाँ शिराबाट काम अघि बढाउने खाका पनि प्रस्तुत गरिने छ ।”
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले खगेन्द्र नवजीवन केन्द्रको अनियमितता नियन्त्रण गर्न निर्देशन दिइसकेको बताए । उनले अपाङ्गता भएका व्यक्तिको बसोबास सहज बनाउने गरी काम अघि बढाउन सचिव र सहसचिवलाई निर्देशन दिइसकेको बताए । उनले केन्द्रमा भइरहेका गतिविधिबारे आफू जानकार रहेको बताउँदै भने, “अपाङ्गता भएकाहरूको बसोबास सुविधाजनक हुनु पर्छ । अनियमितता भए कारबाही हुनु पर्छ भन्नेमा प्रस्ट छु । सचिव र सहसचिवलाई केन्द्रको समस्या तत्काल समाधान गर्नु भनेर निर्देशन दिएको छु । काम अघि बढ्दै छ ।”







