काठमाडौँ । ह्यात होटलको सेवा बन्द र कर्मचारी प्रवेशमा रोक लगाइएको भन्ने समाचारप्रति प्रधानमन्त्री सुशीला कार्कीले गम्भीर चासो व्यक्त गरेका छन्।
प्रधानमन्त्रीको चासोपछि अर्थमन्त्री रामेश्वर खनालले आज बिहान ह्यात रिजेन्सी होटलका व्यवस्थापनसँग टेलिफोनमार्फत कुराकानी गरी सम्पूर्ण विषयमा जानकारी लिएका हुन्।
कुराकानीका क्रममा अर्थमन्त्री खनालले सरकार होटलको सुरक्षाप्रति पूर्ण जिम्मेवार रहेको भन्दै सेवा सुचारु गर्न आग्रह गरे। उनले भने, “तपाईंहरू आत्तिनु पर्दैन, उच्च मनोबलका साथ आफ्नो सेवा निरन्तर चलाउनुहोस्। सरकार तपाईंहरूको साथमा छ, सुरक्षाको व्यवस्था हामी मिलाउँछौँ।”
खनालले होटल व्यवस्थापनलाई कुनै पनि दबाब वा असुरक्षाको कारणले सेवा अवरुद्ध नगर्न आग्रह गरेका छन्।
यस विषयमा सरकार र होटल व्यवस्थापनबीच भोलि आइतबार थप छलफल हुने र आवश्यक पहलका लागि सम्बन्धित निकायहरू सक्रिय हुने बताइएको छ।







