काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले नेकपा (माओवादी केन्द्र) सँग भइरहेको पार्टी एकता प्रक्रियाप्रति आफ्नो असहमति रहेको स्पष्ट पारेका छन्।
पार्टी एकताको विपक्षमा उभिएका खनालले यस विषयमा आफूलाई कुनै जानकारी नभएको र आफू त्यसको पक्षमा नरहेको बताए।
एकीकृत समाजवादीको जारी केन्द्रीय कमिटी बैठकमा सहभागी हुन पुगेका बेला बिहीबार सञ्चारकर्मीले माओवादीसँगको पार्टी एकताको विषयमा राखेको जिज्ञासामा उनले संक्षिप्त प्रतिक्रिया दिए। ‘गर्नेले गर्छन्, नगर्नेले गर्दैनन्,’ खनालले भने, ‘म पक्षमा होइन।’
एकीकृत समाजवादीको जारी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष माधवकुमार नेपालले माओवादी केन्द्रसँग पार्टी एकता गर्ने प्रस्ताव पेस गरेका छन्। निर्वाचन आयोगले दल दर्ताका लागि दिएको समयसीमाभित्रै एकता टुंग्याउने पक्षमा अध्यक्ष नेपाल रहेका छन्।
तर, सम्मानित नेता खनालले भने एकताको नाममा पार्टीलाई माओवादीमा विसर्जन गर्न खोजिएको भन्दै सुरुदेखि नै विरोध गर्दै आइरहेका छन्।
उनले अध्यक्ष नेपालले व्यक्तिगत संरक्षणका लागि पार्टी एकता गर्न खोजेको र पार्टीको सही नेतृत्व गर्न असफल भएको आरोप लगाउँदै आएका छन्।







