यू-१९ विश्वकपमा अफगानिस्तानलाई पराजित गर्दै नेपाल सुपर सिक्समा

जनता संवाददाता
२०८० माघ १२ गते, शुक्रबार

काठमाडौं । नेपाल आइसिसी यू–१९ विश्वकप क्रिकेटको सुपर सिक्समा प्रवेश गरेको छ। अफगानिस्तानलाई पराजित गर्दै नेपाल दक्षिण अफ्रिकामा जारी यू–१९ विश्वकपको सुपर सिक्समा प्रवेश गरेको हो।

नेपालको जितका लागि कप्तान देव खनालले अर्धशतक महत्त्वपूर्ण बन्यो। अफगानिस्तानले दिएको १४६ रनको लक्ष्य पछ्याउने क्रममा कप्तान खनालले ७३ बलमा सात चौकासहित अर्धशतक बनाएका हुन्। ८९ बलको सामना गर्दै कप्तान खनालले ५८ रन जोडे।

नेपालका लागि दिपक बोहोराले ४२ बलमा २७ रन जोडे। सुवास भण्डारीले २९ बलमा नटआउट ९ रन जोड्दै नेपाललाई जित दिलाए । नेपालका लागि आकाश त्रिपाठी १६ र अर्जुन कुमालले १० रन जोडे। अन्य ब्याट्सम्यानले भने दोहोरो अंक जोड्न सकेनन्। दिपक डुम्रे ५, दीपेश कँडेल ४, विपिन रावलले २ रन बनाए । गुलसन झा र आकाश चन्द एकएक रनमै आउट भए।

शुक्रबार दक्षिण अफ्रिकाको इष्ट लन्डनस्थित बफेलो पार्क मैदानमा टस हारेर बलिङको निम्तो पाएको नेपालले ४०।१ ओभरमा १० विकेट लिँदै अफगानिस्तानलाई १४५ रनमा समेटेको थियो। समूह ‘डी’मा रहेको नेपाल यसअघि लगातार दुई खेलमा पराजित भएको थियो। अन्तिम खेलमा अफगानिस्तानलाई स्तब्ध पार्दै सुपर सिक्सको यात्रा तय गर्न सफल भएको हो।

शुक्रबारको खेलमा अफगानिस्तानलाई मध्यम स्कोरमा समेट्न नेपालका लागि आकाश चन्दले सर्वाधिक पाँच विकेट लिनुभयो। दीपेश कँडेलले दुई विकेट लिनुभयो भने गुलसन झा, तिलक भण्डारी र सुवास भण्डारीले एक–एक विकेट लिएका छन्। समूह ‘डी’बाट नेपालसहित न्युजिल्याण्ड र पाकिस्तान सुपर सिक्समा प्रवेश गरेका छन्।

यसअघि नेपाल पहिलो खेलमा न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको थियो भने दोस्रो खेलमा पाकिस्तानसँग पाँच विकेटको हार बेहोरेको थियो।

प्रकाशित मिति : २०८० माघ १२ गते, शुक्रबार


Scroll to Top

Janata Media