अदालतबाट चार करोड जरिवाना र तीन वर्ष कैद सुनाइएका व्यक्ति नौ वर्षपछि पक्राउ

जनता संवाददाता
२०८० माघ २२ गते, सोमबार

काठमाडौँ । नेपाल प्रहरीले अदालतबाट तीन वर्ष कैद र रु.चार करोड जरिवाना ठहर गरेका एकजनालाई पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले बैङ्किङ कसुर मुद्दामा पुनरावेदन अदालत पाटनबाट तीन वर्ष कैद र रु चार करोड जरिवाना ठहर भएकी काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–६ की ४५ वर्षीय मन्दिरा केसी कार्कीलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक नवराज अधिकारीले भक्तपुरको साबिक चाँगुनारायण गाविस–७ र ९ मा रहेका जग्गाको धितो राखेर ऋण निकालेर लगानीको दुरुपयोग गरेकाले पक्राउ गरिएको जानकारी दिए । “मन्दिराले आफू सञ्चालक रहेको घराना डेभलपर्स प्रालिको नाममा ऋण बनाएर लगानी नगरी रकम दुरुपयोग गरेको अनुसन्धानबाट खुलेको छ”, उनले भने ।

मुद्दामा साबिक पुनरावेदन अदालत पाटनको २०७१ साल वैशाख २९ गतेको फैसलाले मन्दिरालाई तीन वर्ष कैद र रु.चार करोड जरिवाना हुने ठहर गरेको थियो । शनिबार काभ्रेपलाञ्चोकको बनेपाबाट पक्राउ परेकी मन्दिरालाई फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा पेस गरिएको प्रवक्ता अधिकारीले बताए ।

प्रकाशित मिति : २०८० माघ २२ गते, सोमबार


Scroll to Top

Janata Media