कोरिया जान सात सय श्रमिकको आवेदन

जनता संवाददाता
२०८० जेष्ठ २ गते, मंगलवार

काठमाडौँ । रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत दक्षिण कोरियामा पानीजहाज (सिप बिल्डिङ) निर्माणको क्षेत्रमा काम गर्न सात सय नेपाली श्रमिकको आवेदन परेको छ । दक्षिण कोरिया मानव संसाधन विभाग (एचआरडी) ले यसअघि कोरिया जान रोस्टरमा परेकामध्येबाट एक हजार दुई सय माग गरेकामा सात सयको मात्रै आवेदन परेको हो ।

एचआरडी कोरियाले दक्षिण कोरिया पानीजहाज निर्माण क्षेत्रमा काम गर्न तीन हजार नेपाली श्रमिकको माग गरेकामा एक हजार दुई सय यसअघि रोस्टरमा परेकामध्येबाट र एक हजार आठ सय जना नयाँ माग भनेको छ तर कोरिया जानका लागि यसअघि नै रोस्टममा परेकाबाट मागभन्दा पाँच सय कमको आवेदन परेकाले दुुई हजार तीन सय जना नयाँबाट आवेदन माग गरिने वैदेशिक रोजगार विभाग ९इपिएस० शाखाले जनाएको छ ।

इपिएस शाखाका निर्देशक पुष्पराज कटुवालले एचआरडी कोरियाले २०२३ मा जहाज निर्माण क्षेत्रमा काम गर्न तीन हजार कामदार लैजाने योजना बनाएको जानकारी दिए । आगामी जुुन महिनामा उक्त क्षेत्रका लागि आवेदन दिएका सात सय नेपाली श्रमिक लैजाने गरी तयारी भइरहेको जानकारी दिँदै निर्देशक कटुवालले दुुई हजार तीन सय युवाको छनोटका लागि एक/डेढ महिनापछि नयाँ आवेदन माग हुने जानकारी दिनुुभयो । उनका अनुसार जहाज निर्माण काममा जानेका लागि तलबसहित तालिम अनिवार्य रहेको छ । अन्य क्षेत्रभन्दा पानीजहाज निर्माण क्षेत्र जोखिमयुक्त भएकाले पनि तलब सेवासुविधा पनि राम्रो रहेको निर्देशक कटुवालले जानकारी दिए ।

हालसम्म इपिएस अन्तर्गत कोरियाले नेपालबाट उत्पादन तथा कृषि क्षेत्रमा मात्र नेपालबाट श्रमिक माग हुँदै आएकामा अब भने नयाँ क्षेत्र थपिएको हो । नेपालबाट लैजाने युवाले काम गर्ने क्षेत्र बढाएसँगै कोरियामा थप नेपालीले रोजगारीको अवसर पाउने भएका छन् । सन् २००८ मा पहिलो पटक इपिएस लागु गर्दा नेपालबाट श्रमिक लैजाने गरी सम्झौता भएकामा बिचमा मत्स्य उत्पादन क्षेत्रमा नेपाली माग नगर्ने निर्णय भएको थियो । हाल आएर कोरियाले पानीजहाज निर्माणमा समेत नेपाली लैजाने गरी रोजगारी क्षेत्र थप गर्ने निर्णय गरेको शाखाले जनाएको छ ।

एचआरडी कोरियाले हाल उत्पादनमूलक क्षेत्रतर्फ उत्तीर्ण भई रोजगार आवेदन फाराम भरेर रोस्टरमा नाम समावेश भएका पाँच हजार तीन सयमध्ये एक हजार २१० जनालाई जहाज निर्माणमा लैजाने तयारी गरेकामा न्यून आवेदन परेका कारण पहिलो चरणमा सात सयलाई लैजाने भएको छ । पछिल्लो समय कोरियाको पानीजहाज निर्माण कम्पनीमा श्रमिक अभाव हुन थालेपछि नेपालबाट पहिलो पटक श्रमिक लैजाने तयारी गरिएको हो ।

यस अन्तर्गत स्काफोल्ड, इन्सुलेसन, ग्रेन्डर, वेल्डिङ, पाइप मेसिनरी र इलेक्ट्रिक क्याबलिङ गरी पाँच क्षेत्रमा श्रमिक लैजाने गरी तयारी गरिएको शाखाले जनाएको छ । कम्पनी अनुसार पानीजहाज निर्माणका लागि तलबसहित एकमहिने तालिम दिइने छ । पानीजहाज निर्माण क्षेत्रको रोस्टरको म्याद पनि उत्पादनमूलक क्षेत्रको बराबर हुने छ ।

प्रकाशित मिति : २०८० जेष्ठ २ गते, मंगलवार


Scroll to Top

Janata Media