काठमाडौँ । दुईवटा वाइडबडी विमान खरिदमा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले पूर्वपर्यटनमन्त्री जीवनबहादुर शाही, नेपाल वायुसेवा निगमका पूर्वमहाप्रबन्धक सुगत कंसाकार, पूर्वपर्यटन सचिव शंकर अधिकारीसहित ३२ जनालाई प्रतिवादी बनाएको छ ।
अख्तियारले वाइडबडी खरिदमा १ अर्ब ४७ करोड रुपैयाँ भ्रष्टाचार भएको दाबी गरेको छ । आयोगका प्रवक्ता नरहरी घिमिरेले मुद्दा दर्ता भएको पुष्टि गरे । उनले विस्तृत जानकारी केही समयमा सार्वजनिक गर्ने बताए ।
शाहीको सांसद पद स्वतः निलम्बनमा
नेपाली कांग्रेस कर्णाली प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाहीको सांसद पद स्वतः निलम्बनमा परेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा विशेष अदालतमा दर्ता गरेपछि शाहीको सांसद पद निलम्बनमा परेको हो ।भ्रष्टचार निवारण ऐन, २०५८ अख्तियार दुरुपयोग अनुसन्धान आयोग, २०४८ मा भएको व्यवस्था अनुसार सार्वजनिक पदमा भएको व्यक्तिविरुद्ध मुद्दा दर्ता भएमा स्वतः निलम्बन पर्ने व्यवस्था छ ।
दुई वटा वाइडवडी विमान खरिदमा भ्रष्टचार गरेको भन्दै अख्तियारले पूर्व पर्यटन मन्त्रीसमेत रहेका शाहीसहित ३२ जनालाई मुद्दा दर्ता गरेको छ । वाइडवडी खरिदमा १ अर्ब ४७ करोड रुपैयाँ भ्रष्टचार भएको दाबी अख्तियारले गरेको छ ।
४ मंसिर २०७९ मा भएको निर्वाचनमा शाही हुम्ला प्रदेश सभा (२) बाट निर्वाचित भएका थिए । २०७४ सालमा कर्णालीमा कांग्रेसबाट प्रदेश सभामा प्रत्यक्षतर्फ निर्वाचित हुने शाही एक्ला उम्मेदवार थिए । तत्कालीन नेकपा पार्टी विभाजित भएपछि शाही गठबन्धनबाट कर्णालीको मुख्यमन्त्री बनेका थिए ।







