काठमाडौँ । भारतको नैनीतालमा भएको सवारी दुर्घटनामा सात जना नेपालीको मृत्यु भएको खुलेको छ । मृत्यु हुनेमा अधिकांश बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर-८ फत्तेपुर गाउँका स्थानीय रहेको खुलेको हो ।
बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार सो गाँउमा पाँच स्थानीयको मृत्यु भएको छ। दुर्घटनामा ज्यान गुमाउनेमा बैजनाथ-८ का ५० वर्षीय उदयराम चौधरी, ४१ वर्षीय तिलक चौधरी, ५० वर्षीय अन्तराम चौधरी, ६० वर्षीय विनोद चौधरी र ४५ वर्षीय धिरज चौधरी रहेका छन्।
उक्त दुर्घटनामा परी बर्दिया बबई चेपाङ निवासी ६० वर्षीय तोकबहादुर र ऊचाकोट बेतालघाटका ४० वर्षीय रमेश चन्द्रको पनि मृत्यु भएको बताइएको छ। दुर्घटनामा मृत्यु हुने र घाइते भएका सबै नेपाली भारतको जल जीवन परियोजनामा काम गर्ने मजदुर भएको बुझिएको छ। उनीहरु कञ्चनपुर महेन्द्रनगरको बाटो हुँदै आफ्नो घर फर्कन लागेका थिए।







