घरबाटो सिफारिस दिन घुस माग्ने वडाध्यक्ष भ्रष्टाचारमा दोषी ठहर

जनता संवाददाता
२०८१ जेष्ठ २५ गते, शुक्रबार

काठमाडौं । जग्गाको घरबाटो सिफारिस दिन घुस माग्ने कपिलवस्तुका एक वडाध्यक्ष दोषी ठहर भएका छन् । विशेष अदालतले कपिलवस्तुको महाराजगन्ज नगरपालिका २ का वडाध्यक्ष उजेर अलीलाई दोषी ठहर गरेको हो ।

विशेष अदालतका न्यायाधीशहरु खुशीप्रसाद थारु, राम बहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले बिहीबार अलीलाई दोषी ठहर गरेको हो ।

कपिलवस्तुको महाराजगन्ज नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष उजेर अलीले जग्गाको घरबाटो सिफारिस लिन सेवाग्राहीसँग १५ हजार रुपैयाँ घुस लिएका थिए । घुस लिँदै गरेको भन्ने सूचना पाएपछि पुगेको अख्तियारको टोलीले २०८० चैत १८ गते घुस रकमसहित नियन्त्रणमा लिएको थियो ।त्यसको एक महिनापछि २०८१ वैशाख १७ गते विशेष अदालतमा दर्ता भएको घुस रिसवतको मुद्दामा अदालतले अलीलाई दोषी ठहर गर्दै बिगो रकम बराबरकै जरिवाना सुनाएको हो । विशेष अदालतले अलीलाई दोषी ठहर गरेसँगै उनको वडाध्यक्षको पदसमेत गएको छ ।

प्रकाशित मिति : २०८१ जेष्ठ २५ गते, शुक्रबार


Scroll to Top

Janata Media