अब कांग्रेसले गठबन्धन गर्दैन : महामन्त्री शर्मा

जनता संवाददाता
२०८१ असार १ गते, शनिबार

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी निर्वाचनमा कांग्रेसले कुनै पनि राजनीतिक दलसँग गठबन्धन नगर्ने बताएका छन् । भक्तपुरको सूर्यविनायकमा आज आयोजित सहिद राधेश्याम जोन्छेको १२औँ वार्षिकीमा उनले आगामी निर्वाचनमा कांग्रेस एक्लै प्रतिस्पर्धामा उत्रने बताएका हुन् ।

उनले गठबन्धनको अनुभव पार्टीलाई भएको भन्दै त्यसतर्फ नलाग्ने नेतृत्वको अनौपचारिक निर्णय सुनाए । नेपाली कांग्रेसमा आन्तरिक लोकतन्त्रको राम्रो अभ्यास भइरहेको बताउँदै महामन्त्री शर्माले कांग्रेस केन्द्रमा मात्र नभई तल्लो तहदेखि नै बदलिनुपर्नेमा जोड दिए ।

नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले नेपाली कांग्रेसलाई अहिलेको अवस्थामा ल्याउन जोन्छेको योगदान अतुलनीय रहेको बताए । उनले कांग्रेसलाई जिल्लामा एक ढिक्का बनाएर अघि बढाएका कारण अहिले भक्तपुर जिल्लामा पार्टी पहिलो बन्न सफल भएको जिकिर गरे ।प्रतिष्ठानकी अध्यक्ष रजनी जोन्छेले निःसहायलाई पढाउन छात्रवृत्तिकोष विस्तार गरी त्यसमा रु पाँच लाख थपिने जानकारी दिइन् । चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले जोन्छेलगायत सहिदले पार्टीका लागि पुर्‍याएको योगदानको चर्चा गर्नुभयो ।

कार्यक्रममा मेधा माध्यमिक विद्यालयमा अध्ययनरत एक विद्यार्थीलाई रु १२ हजार र सुवर्णेश्वर आधारभूत विद्यालयका दुई छात्रालाई जनही रु आठ हजार छात्रवृत्ति प्रदान गरिएको थियो ।

प्रकाशित मिति : २०८१ असार १ गते, शनिबार


Scroll to Top

Janata Media