सोती हत्या प्रकरण: २४ जनालाई जन्मकैद, नवराजकी प्रेमिकालाई २ वर्ष कैद सजाय

जनता संवाददाता
२०८० मंसिर १९ गते, मंगलवार

काठमाडौं । साढे ३ वर्षअघि रुकुम पश्चिमको सोती गाउँमा भएको नवराज विकसहित ६ जनाको हत्या प्रकरणमा रुकुम पश्चिम जिल्ला अदालतले २४ जनालाई जन्मकैदको सजाय सुनाएको छ। जिल्ला न्यायाधिश खड्गबहादुर केसीको इजलासले मंगलबार घटनाको कसुरमा थुनामा रहेका २४ जनालाई जन्मकैदको सजाय सुनाएको हो।

नवराजकी प्रेमिकासहित उनकी आमा र बुबालाई जातीय विभेदसम्बन्धी मुद्दामा २ वर्षको कैद तोकिएको छ। साथै उनीहरुलाई ५० हजार जरिवाना गरेको छ । साधारण तारेखमा छुटेका ११ जनामध्ये ८ जनालाई भने सफाइ दिइएको रूकुम जिल्ला अदालत (रुकुम पश्चिम)ले जनाएको छ।

साढे तीन वर्षअघि नवराज विकसहित ६ जनाको ज्यान जाने गरी भएको घटनामा जिल्ला सरकारी वकिल कार्यालयले २ नाबालकसहित ३४ जना विरुद्ध मुद्दा दायर गरेको थियो।

१० जेठ २०७७ मा जाजरकोटको रानागाउँका २१ वर्षीय नवराज विक साथीसहित आफ्नी प्रेमिका रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोती गाउँकी मल्ल थरकी युवतीसँग विवाहको कुरा गर्न पुगेका थिए। दलितले ठकुरीकी छोरीसँग विवाह गर्न लागेको भन्दै सोती गाउँका स्थानीयले नवराज सहित उनका साथीलाई लेखेटेर हत्या थिए।

उक्त घटनामा ६ जनाको ज्यान गएको थियो भने १२ जना घाइते भएका थिए। मृतकहरुको शव भेरी नदीमा भेटिएको थियो। घटनाका सन्दर्भमा छानबिन गर्न नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलको संयोजकत्वमा संसदीय छानबिन समिति समेत गठन गरिएको थियो। संसदीय समितिले उक्त घटना नियोजित रुपमा भएको निष्कर्ष निकालेको थियो।

घटनाका सन्दर्भमा प्रहरीको अनुसन्धानपछि सोती गाउँका ३४ जनालाई प्रतिवादी बनाउँदै रुकुम पश्चिम जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो। प्रतिवादीहरु विरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र जातीय छुवाछुतको कसुरमा सजाय मागदाबी गरिएको थियो।

प्रकाशित मिति : २०८० मंसिर १९ गते, मंगलवार


Scroll to Top

Janata Media