रोल्पामा जिप दुर्घटना हुँदा सातको मृत्यु, ८ घाइते

जनता संवाददाता
२०८१ असार १८ गते, मंगलवार

काठमाडौँ । रोल्पामा जिप दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् । माडी गाउँपालिका–२ घर्ती गाउँबाट वडा नं।४ तालाबाङतर्फ जाँदै गरेको लु १ ज ३२५२ नम्बरको जिप सोमबार बेलुका करिब ६ बजेतिर परेवा छहरा भन्ने ठाउँमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

चालक सहित जिपमा १५ जना सवार रहेको मध्ये सात जनाको मृत्यु भएकोमा ६ जनाको सनाखत भएको प्रहरी नायब उपरीक्षक भरत लामाले जानकारी दिए । मृत्यु हुनेमा माडी गाउँपालिका–३ तालाबाङका ३३ वर्षीया जुनमाया खड्का, ७७ वर्षीय खडकबहादुर डाँगी, माडी गाउँपालिका–३ दाबाङकी ३० वर्षीया अमृता घर्ती, उनकी १८ महिनाकी छोरी रहेको लामाले बताए । यसै गरी परिवर्तन गाउँपालिका–२ राङ्सीकी ३३ वर्षीया रामकली पुन र ७० वर्षीय झुपलाल डाँगीको पनि दुर्घटनामा ज्यान गएको डिएसपी लामाले बताए । मृत्यु मध्ये एकको सनाखत हुन बाँकी रहेको प्रहरी जनाएको छ ।

जिप चालक परिवर्तन गाउँपालिका–२ नाफेका ४५ वर्षीय दीपक थापा सहित ८ जना घाइतेलाई थप उपचारको लागि रेउघा जिल्ला अस्पतालमा रिफर गरिएको छ । माडी गाउँपालिका–२ घर्तीगाउँका ६ वर्षीय हिटलर खड्का, माडी–३ तालाबाङका ६० वर्षीया कर्मा बुढा मगर, सोही वडाका ४२ वर्षीया बरमाली घर्ती, ३७ वर्षीय खगेन्द्र बाँठा, १३ वर्षीया प्रतिभा बुढा मगर, गङ्गादेव गाउँपालिका–७ का ५० वर्षीय नैनसिंह पुन र माडी–३ दाबाङका ४० वर्षीया दिलकुमारी बुढा मगरलाई थप उपचारको लागि जिल्ला अस्पताल रेउघा रिफर गरिएको छ ।

जिप सडकबाट करिब चार सय मिटर तल पुगेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०८१ असार १८ गते, मंगलवार


Scroll to Top

Janata Media