पहिलो महिला मुख्यसचिव लीलादेवी गड्तौला

जनता संवाददाता
२०८१ श्रावण १० गते, बिहीबार

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयकी वरिष्ठ सचिव लीलादेवी गड्तौला निमित्त, कायममुकाय हुँदै मुख्यसचिव पदमा नियुक्त भएकी छन्। यससँगै गड्तौला नेपालको इतिहासमा पहिलो महिला मुख्यसचिव भइन्।

सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद बैठकले कायममुकायम मुख्यसचिव गड्तौलालाई मुख्यसचिव बनाएसँगै मुलुकमा पहिलो पटक महिला कर्मचारी उच्चपदस्थ पदमा पुग्ने अवसर आएको हो।

तत्कालीन मुख्यसचिव बैकुण्ठ अर्याल भ्रष्टाचार मुद्दामा निलम्बनमा परेपछि गत असार ९ गते नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डु नेतृत्वको सरकारले वरिष्ठ सचिव गड्तौलालाई निमित्त मुख्यसचिवको जिम्मेवारी दिएको थियो।

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनेपछि असार ३१ गते बसेको मन्त्रिपरिषद् बैठकले गड्तौलालाई कायममुकायम मुख्यसचिव बनाएको थियो।

गड्तौला २०७७ कात्तिकमा सचिवमा बढुवा भएकी थिइन्। उनको कार्यकाल यही भदौ १५ गतेसम्म मात्र छ। भदौ १५ गते उनी ५८ वर्ष पुग्छिन्। उमेर हदका कारण सोही दिनदेखि उनी अवकाशमा जाँदैछिन्।

निजामती सेवा ऐन २०४९ मा मुख्यसचिवको कार्यकाल ३ र सचिवको कार्यकाल ५ वर्ष हुने उल्लेख छ। तर कार्यकाल नसकिँदै ५८ वर्ष पुगेमा स्वतस् अवकाशमा जानुपर्छ।

गड्तौला २०५२ साल पुसमा शाखा अधिकृतबाट निजामती सेवामा प्रवेश गरेकी थिइन्। गड्तौलाले ुह्युमन राइट्स एण्ड जेण्डरु र राजनीति शास्त्रमा स्नातकोत्तर गरेकी छिन्। त्यसबेला न्यायसेवाको शाखा अधिकृतमा १७ जनाको नाम सिफारिस हुँदा उनी पहिलो नम्बरमा थिइन्।

उनी २०६३ सालमा उपसचिव, २०७० सालमा सहसचिव र २०७७ साल कात्तिकमा सचिवमा भएकी थिइन्। उनले १७ वर्ष कानुन मन्त्रालयमा मात्रै काम गरेकी थिइन्। तर पहिलो महिला कानुन सचिव हुने अवसर भने पाइनन्।

२०८० साउन ७ गते तत्कालीन कानुन सचिव धनराज ज्ञवालीको अवकाश भएपछि उनलाई कानुन सचिवका रूपमा पनि हेरिएको थियो। तर त्यसबेला प्रधानमन्त्री कार्यालयका उदयराज सापकोटालाई कानुन सचिवमा नियुक्त गरियो। गड्तौलाले तत्कालीन प्रधानमन्त्री ुप्रचण्डुलाई भेटेरै यसमा असन्तुष्टि जनाएकी थिइन्। कानुनमा दख्खल राख्ने गड्तौला २०२३ सालमा तेह्रथुमको म्याङ्लुङमा जन्मिएकी हुन्।

मुख्यसचिव नियुक्त भएपछि सेतोपाटीलाई संक्षिप्त प्रतिक्रिया दिँदै गड्तौलाले सरकारको यो निर्णयले आफू खुसी भएको बताइन्। ‘म एकदमै खुसी छु,’ गड्तौलाले भनिन्, ‘आफूले सेवा गरिरहेको निजामतीको सबैभन्दा विशिष्ट स्थानमा पुग्दा कसलाई खुसी लाग्दैन र?’

नेपालको निजामती कर्मचारीको इतिहासमा २०४१ सालमा चन्द्रकला किरण पहिलो महिला सचिव भएकी थिइन्। परराष्ट्र सेवामा सेवा लम्साल पहिलो महिला सचिव हुँदा पनि निजामती प्रशासनमा महिला नेतृत्वका लागि खुड्किलोका रूपमा लिइएको थियो।

निजामती सेवामा अहिले महिला कर्मचारी २०.६४ प्रतिशत छ। राष्ट्रिय किताबखानाका अनुसार ८५ हजार पाँच सय १२ जना कर्मचारीमध्ये २४ हजार एक सय ४३ जना महिला कर्मचारी छन्।

अहिले आठ जना महिला सचिव छन्। तीमध्ये गड्तौला मुख्यसचिव भएसँगै अब सात जना महिला सचिव छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सामाजिक सञ्जालमा लेख्दै मुख्यसचिव गड्तौलालाई बधाई दिएका छन्।

‘देशभरको कर्मचारी प्रशासनको नेतृत्व पहिलो पटक महिलालाई। आजको मन्त्रिपरिषद बैठकले सरकारको मुख्य सचिवमा लीलादेवी गड्तौलालाई नियुक्त गरेको छ। नवनियुक्त मुख्यसचिव लीलादेवी गड्तौलालाई बधाई,’ ओलीले लेखेका छन‍्।सेतोपाटी

प्रकाशित मिति : २०८१ श्रावण १० गते, बिहीबार


Scroll to Top

Janata Media