काठमाडौं । काठमाडौँ विश्वविद्यालय (केयु) को २९ औँ दीक्षान्त समारोह (दोस्रो चरण) मा विश्वविद्यालयका विभिन्न सङ्कायमा अध्ययनरत दुई हजार ३१४ विद्यार्थी दीक्षित हुने भएका छन् । विश्वविद्यालयले बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै शुक्रबार हुने २९ औँ दीक्षान्त समारोहको दोस्रो चरणमा स्कुल अफ आर्ट्स, साइन्स, एजुकेसन, इन्जिनियरिङ, म्यानेजमेन्ट, मेडिकल साइन्सेज विधाका विद्यार्थी दीक्षित हुने जानकारी दिइएको हो ।
समारोहमा उक्त सङ्काय अन्तर्गत पिएचडी, डिएम र एमसीएच तहका ११ जना, एमफिल तहका ३२ जना, स्नातकोत्तर तहका ४५६ जना, र स्नातक तहका एक हजार ८१५ जना विद्यार्थी दीक्षित हुने विश्वविद्यालयकी प्रवक्ता एक्कुमाया पुनले जानकारी दिए ।
उनले दीक्षित हुनेमध्ये स्कुल अफ आर्ट्सका ७० जना, एजुकेसनका ७१ जना, इन्जिनियरिङका ३६४ जना, म्यानेजमेन्टका ९७ जना, मेडिकल साइन्सेजका एक हजार ५६३ जना र साइन्सका १४९ जना रहेको बताए । उनले दीक्षित हुनेमध्ये अमेरिका, मेक्सिको, डेनमार्क, चीन, भुटान, इजरायल, जर्मनी, सिङ्गापुर, अर्जेन्टिना, प्यालेस्टान, सुडानलगायतका १९ देशका २४२ विद्यार्थी रहेका छन् । दीक्षित हुने कुल विद्यार्थीमा विदेशी विद्यार्थीको सङ्ख्या १० प्रतिशत रहेको प्रवक्ता पुनले बताए ।
यस पटकको दीक्षान्त समारोहमा विश्वविद्यालयको इतिहासमा पहिलो पटक स्कुल अफ म्यानेजमेन्ट अन्तर्गत मास्टर्स अफ बिजनेस एण्ड इकोनोमिक्समा ११ जना र ब्याचलर इन हस्पिटालिटी म्यानेजमेन्टमा २३ जना, स्कुल अफ मेडिकल साइसेन्जको डक्टर अफ मेडिसिन इन जनरल प्राक्टिस एण्ड इमरजेन्सी मेडिसिनमा पाँच जनालगायतका विभिन्न सङ्कायका विभिन्न विषयमा विद्यार्थीहरु दीक्षित हुने विश्वविद्यालयले जनाएको छ ।
२९ औँ दीक्षान्त समारोहको दोस्रो चरणसम्म आइपुग्दा विश्वविद्यालयबाट हालसम्म ४५ हजार ४३७ विद्यार्थी उत्तीर्ण भएका छन् भने उत्तीर्ण विद्यार्थीमध्ये ५७ देशका १२ प्रतिशत अर्थात् पाँच हजार ४६७ जना विदेशी विद्यार्थी रहेका छन् ।
समारोहमा यस पटक चान्सलर स्वर्णपदकबाट मिजला चित्रकार, भाइस चान्सलर स्वर्णपदकबाट मुकेश तिवारी, भाइसचान्सलर स्वर्णपदक ९एमबिबिएस० तर्फ स्वीकार दाहाल, न्हुछेरत्न तुलाधर स्वर्णपदकबाट रस्मिता पौडेल, रमेशप्रसाद सिंह स्वर्णपदकबाट अर्जुन दास र महेशनाथ पराजुली स्वर्णपदकबाट रनिषा पौडेललाई प्रदान गरिने विश्वविद्यालयले जनाएको छ । पत्रकार सम्मेलनमा विश्वविद्यालयका उपकुलपति प्रा.डा. भोला थापाले विश्वविद्यालयमा विद्यार्थीको आकर्षण बढाउनका लागि समय सापेक्ष विभिन्न विषयको अध्यापन सुरु गरिएको बताए ।
उनले विश्वविद्यालयलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउनका लागि आफ्ना कार्यक्रमहरूलाई अन्तर्राष्ट्रियकरण समेत सुरु गरेको बताए । कार्यक्रममा विश्वविद्यालयका रजिष्ट्रार प्रा. डा. अच्युत वाग्लेले विश्वविद्यालयले अघि सारेका विभिन्न कार्यक्रममा विदेशी विद्यार्थीको सहभागिता हुने गरेको बताए ।







