सुदृष्टी चापागाईं
राजा राम शाहलाई सम्झदा इतिहासमा ‘न्याय नपाए गोर्खा जानु’ भनेर याद गरिन्छ । २६ वटा थिति बन्देजमा नापतौल सम्बन्धी नियम, चौतारामा बसेर सबैको कुरा सुनेर न्याय गर्ने राजा आदि कार्यको वर्णन गरेर नै पाठ्यक्रममा राखिएको पाइन्छ । न्यायको लागि प्रख्यात राजा राम शाहको थिति बन्देजमा वातावरण न्याय सम्बन्धी निम्न लिखित नीति नियम छन् ।
२६ थितिको थिति नम्बर १३ मा वातावरण सम्बन्धी निकै महत्वपूर्ण नियम छ । यो नियम अनुसार बाटोको छेउमा पर्ने रुख बिरुवा काट्न रोक लगाइएको छ । थकाई लागेकाले आराम गर्न, गर्मी भएकाले छायाँ खोज्न, भारी बोकेका व्यक्तिहरुले चौतारीमा भार बिसाउन रुख महत्वपूर्ण रहेको यसमा उल्लेखित छ । यो नियमले वातावरणको हित हुने कुरा गर्दै समाजवादी विशेषतालाई चित्रण गरेको छ । यसले एकजनाको हैन, सबैजनाको हितको लागि काम गरी सामाजिक न्यायको एउटा उदाहरण प्रस्तुत गरेको छ । सोही नियममा कसैले रुख काटेमा ५ रुपैँया जरिवाना हुने प्रावधान व्यवस्था गरिएको पाइन्छ । यसरी जे कानुन बनाइएको छ, त्यो कानुन के कारणले महत्वपूर्ण छ भनी उल्लेख गर्ने व्यवस्थाले कानुन कस्तो हुनुपर्छ भनेर सिकाउन सक्छ । यो यस थितिको एक विशेषता हो ।
यसैगरी नियम १४ ले पधेंरोको वरिपरिको वन संरक्षण गर्नुपर्ने नियम व्यवस्था गरेको छ । यस नियम ल्याउनु पछाडीको कारण रुख काटे पानीको मुहान सुक्न सक्ने तथा विभिन्न प्राकृतिक प्रकोपहरु देखा पर्न सक्ने बताइएको छ । साथै, रुख जोगाउन, वन जंगल जोगाउन, रुख रोप्ने काम गर्न यसले प्रोत्साहित गरेको छ । यसरी अनुसन्धान गरी वैज्ञानिक कारण दिएर नियम बनाउनुपर्ने कुरा त्यस नियमबाट सिक्न सकिन्छ । यो प्रावधानमा पनि उक्त नियमको उल्लङ्घन गरेमा ५ रुपैँया जरिवाना हुने व्यवस्था छ । यो नियममा पनि पहिले कारण दिनुको औचित्य चेतना विकास गर्नु हो । त्यस बखतको कानुनले पनि वातावरणको महत्व सिकाउने कार्य सम्पन्न गर्यो । कानुनको काम दण्डित गर्नुमात्र हुदैन, पहिला शासकले जनतामा चेतना फैलाउने, ज्ञान दिने कार्य गर्नुपर्छ भनेर अप्रत्यक्ष रुपमा सिकाएको कुरा अनुमान गर्न सकिन्छ ।
यसरी इतिहासमा राजा राम शाहले २६ थितिमा वातावरण सम्बन्धी नियमहरु समावेश गर्नुभएका कुराहरु निकै महत्वपूर्ण छन् । बोट, बिरुवा र पानीको सम्बन्धः बोट बिरुवाको महत्व, प्राकृतिक सम्पदाको महत्व सबै यसमा उल्लेखित छ । इतिहासमा वातावरण कानुनको विकास क्रममा यी नियमले महत्वपूर्ण भूमिका खेल्छन् । यस्तो नीति नियमले कानुन बनाउनु पर्ने धेरै कारण दिन सकेको छ । यी नियममा प्रकृतिको नियम; समाजलाई महत्वपूर्ण नियम; समाजवाद स्थापित गराउन पर्ने नियम सबै नियमको संगम भेट्न सकिन्छ । यी नियमले उल्लेख गरेको उद्देश्य प्रकृतिलाई न्याय गर्ने, प्रकृतिको सम्मान गर्ने किसिमको थियो । यससँगै, गर्मी भए छायाँ पाउन, थकाई लागेको बेला भारी बिसाउन मद्दत गर्ने भन्नाले मान्छेको हक स्थापित गराउने नियम हो- समाजमा हुने सबैको लागि हित गर्ने नियम सामाजिक न्यायको नियम हो । यसैगरी, रुख काटे पानी सुक्ने र मान्छेलाई पानीको कमि हुन सक्ने हुँदा यी नियमले मानव अधिकारको समाजवादको वातावरणको र समाजमा चलि आएको प्रथाको सम्मान गरेको छ ।
साथै, व्यवस्था कस्तो हुनुपर्छ, कानुन कस्तो हुनुपर्छ भन्ने उदाहरण प्रस्तुत गर्ने कुरामा पनि २६ थितिको उल्लेखनिय योगदान रहेको छ । यसरी वर्षौँ अगाडी वातावरणको महत्व झल्काउने कानुन बन्न सक्नु हाम्रो देशको गौरवशाली इतिहासको एक उदाहरण हो । यस्तो इतिहासको अध्ययन गरी सही मुल्याङ्कन गर्दै कानुन कस्तो हुनुपर्छ भन्ने कुरामा ध्यान दिन आवश्यक छ । इतिहासको संरक्षण गर्ने एक तरिका यसको अध्ययन गर्नु हो । तसर्थ, इतिहासमा रहेको यस्तो नीति नियम अध्ययन गर्न आवश्यक छ । यि कुराहरु ध्यायमा राखेर अहिलेको समय सुहाउँदो कानुन निर्माण गरी कार्यान्वयन गर्न आवश्यक छ ।







