
काठमाडौं । वन तथा वातावरण मन्त्रलालय, मधेश प्रदेशका सचिव उद्धवबहादुर घिमिरेले ‘समृद्धिका लागि वन’ कार्यक्रम सफल बनाउन युद्धस्तरमा काम गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् ।
डिभिवन वन, सबडिभिजन वन कार्यालय र स्थानीय तहबिच अन्तरक्रिया तथा समन्वय गोष्ठीको समापन कार्यमा उहाँले यस्तो निर्देशन दिए । मधेश प्रदेशको २५ वटा पालिकाहरूमा सञ्चालनमा रहेको कार्यक्रम सम्पन्न गर्न एक वर्ष समय रहेकाले सिरहामा छनोटमा परेको भारतीय सीमासँगको गाउँपालिका नवराजपुर, बरियारपट्टी र औरहीमा यो कार्यक्रम सम्पन्न गर्न प्रगति विवरणको अवस्था हेरेर अघि बढिने सचिव घिमिरेले बताए ।
उनले भने, ‘कुरा गरेर हुुँदैन, काम गरेर देखाउन खटिएका कर्मचारीले काम गर्नुपर्छ । मधेश प्रदेशबाट यो कार्यक्रम अन्यत्र जान लागेको अवस्थामा हामी समयमै कार्यक्रम गरेर देखाउने विश्वास दिलाएपछि यो परियोजना टिकेकाले हाम्रो कार्य दक्षता इमानदारिता र प्रतिबद्धता अनुसार काम गर्न जरुरी छ । यो परियोजना मधेश प्रदेशको इज्जतसँग जोडिएको विषय हो ।’
चार वर्षमा सम्पन्न गर्नुपर्ने परियोजना तेस्रो वर्षमा चलिरहेकाले हामीसँग एक वर्षको समय मात्र बाँकी रहेकाले कामको गति बढाउन आइपरेको समस्या चुनौती समाधानका लागि मधेश प्रदेश वन ताथा वातावरणीय मन्त्रालय सहयोग गर्न तयार रहेको सचिव घिमिरेले विश्वास दिलाए ।
समृद्धिका लागि वन कार्यक्रममा सार्वजानिक तथा ऐलानी जग्गामा लगाउने वनको उपभोक्ता समिति रेखदेख गर्न विपन्न दलित समुदायलाई प्राथमिकतामा राखिने उद्देश्य रहेको उनले प्रष्टयाए ।
प्रियोजना कार्यक्रमलाई सफल बनाउन स्थानीय तथा राष्ट्रिय सञ्चार क्षेत्रसँग समन्वय गरेर निरन्तर प्रचार प्रसार आर्थिक पारदर्शिता र जन सहभागिताको नीतिबाट अघि बढ्न डिभिजन तथा सबडिभिजन वन कार्यालयले समन्वय गर्नुपर्ने सचिव घिमिरेले बताए ।
डिभिजन वन कार्यालय लहानका प्रमुख शैलेन्द्रकुमार मिश्रले लगाएको वनलाई संरक्षण गर्ने र थप खाली जग्गामा वन लगाउने कार्यमा स्थानीय तह र सञ्चार क्षेत्रको सहयोग अति आवश्यक देखिएको बताए ।
अन्तरक्रियामा सहभागीबाट वन, गिटी वालुवा कटान लगायतका जिज्ञासा मधेश प्रदेशका वन तथा वातावरण मन्त्रालयका निर्देशक जगन्नाथप्रसाद जयसवालले प्रष्ट पार्दै परियोजनाको विगत वर्तमान र भविष्यबारे व्याख्या गरे ।