काठमाडौँ । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले विश्व जलवायु सम्मेलन (कोप २९) मा व्यवस्थित एजेण्डासहित कोपबाट उपलब्धि हाँसिल गर्नेगरी नेपाल प्रस्तुत हुने बताएका छन् ।
राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा आइतबार कोप–२९ बारे जानकारी दिँदै उनले यस्तो बताएका हुन् । उनले व्यवस्थित एजेण्डासहित नेपाललाई कसरी बढी कोपबाट उपलब्धि हाँसिल गराउन सकिन्छ भन्ने हिसाबले अघि बढ्ने बताए ।
उनले थप अझै गोष्ठी, विचार र आवश्यक सेमिनरहरु गरी सुझाव संकलन गरेर अगाडि बढ्ने र संख्यालाई व्यवस्थित गर्नेकुरामा मन्त्रालयको ध्यान केन्द्रित रहेको बताए । उनले प्रभावित क्षेत्रको प्रतिनिधित्व हुनुपर्ने र त्यसमा पनि कर्णाली प्रदेशको प्रतिनिधित्त्व अनिवार्य गराउने कुरा सकारात्मक रहेको भन्दै मन्त्रालयले गम्भीरताका साथ लिने बताए ।
उनले कर्मचारीको संख्या धेरै भएको गुनासो आएकाले कम गर्नेमा आफूहरु लागेको बताए । कोप–२९ लाई विगतका कोपहरु भन्दा व्यवस्थित र नेपाललाई थप उपलब्धि हुने किसिमले मन्त्रालयले काम गरिरहेको बताए ।
मन्त्री ठकुरीले मन्त्रालयले समितिले दिएका सुझाव पूर्ण रुपमा कार्यान्वनय गर्ने प्रतिवद्धता समेत जनाए ।







